तीन लेखकका तीन कृति एकैसाथ विमोचन

तीन लेखकका तीन कृति एकैसाथ विमोचन

२०८०, बैशाख २ शनिवार

  • 1.9K
    SHARES

  • तीन लेखकका तीन कृति एकैसाथ विमोचन

     

    पुष्पराज भट्टराई

    वैशाख, २ काठमाडौं । नयाँ वर्षगाँठ २०८० सालको अवसर पारेर वैशाख १ गते लेखकत्रय गंगाप्रसाद उप्रेती, वासुदेव ढकाल र चेतनाथ आचार्यका गरी तीन कृति नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी,काठमाडौंमा एक भव्य कार्यक्रमका बीच विमोचन गरी सार्वजनिक गरियो ।
    कोरोना महामारीसँगै थलिएको प्रेस जगत्लाई आशा जगाउनकै लागि भए पनि असहज परिस्थितिमा तीनतीनवटा पुस्तक प्रकाशित गरी आम पाठकमाझ पुर्याउने उद्देश्यले यी पुस्तक विमोचन गरिएको कुरा लेखक एवं मकालु प्रकाशन गृहका प्रबन्ध निर्देशक वासुदेव ढकालले जानकारी दिनुभयो । 
    नेपाल सरकारका पूर्व मुख्यसचिव एवं पूर्व राजदूत लीलामणि पौडेल, नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति गंगाप्रसाद उप्रेती र त्रिभुवन विश्वविद्यालयका अंग्रेजी विभागका प्रमुख उपप्राध्यापक महेश पौडेललगायतले तीनवटा कृतिको फरकफरक ढंगले समीक्षात्मक टिप्पणी गर्नुभएको थियो । 
    उप्रेतीको ‘चक्रव्युह’ नामक कविता संग्रहको अयोध्यानाथ चौधरीद्धारा अंग्रेजी अनुवाद गरिएको उक्त कवितामा समयसापेक्ष नेपाली समाजले भोग्दै आएका समस्यालाई कविताको मूल विषय बनाइएको चर्चा गर्दै पौडेलले भन्नुभयो, ‘भावनाको गहिराइमा डुबेर लेखिएका यी कवितामा समसामयिक समयको गतिसँगै मानिसले भोग्नुपरेका प्राकृतिक प्रकोपको पीडा, राजनीतिक परिवर्तनको छायाँ, भोकमरी, गरिबी र बेरोजगारीका पीडालाई सशक्त रुपमा देखाइएको छ ।’ 
    पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले विद्धान् लेखकका कृति छपाएर आम पाठकमाझ प्रेरणा र उत्साह जगाउनु हुने मकालु पब्लिकेसन्स् प्रालिका प्रबन्ध निर्देशक एवं ‘फाहियानको यात्रा विवरण’का लेखक ढकाललाई बधाई तथा शुभकामना दिँदै भन्नुभयो, ‘विद्धान् लेखकका खोजमा आधारित भएर लेखिएका यस्ता कृतिहरुको प्रकाशनले निरन्तरता पाओस् भन्ने कामना गर्दछु ।’ 
    कार्यक्रममा विशेष अतिथि चिनियाँ दूतावासका नियोग उपप्रमुख  वाङ सिन, ले लेखकहरुलाई बधाई दिँदै यस्ता खोजमूलक कृतिले नेपाल चीनबीचको हज्जारौं वर्ष पुरानो सम्बन्धलाई बुझ्न थप मद्दत पुग्ने धारणा राख्दै भन्नुभयो, ‘धनी व्यक्तिको छिमेकी गरिब भएमा त्यो धनीको पनि इज्जत रहन्न भन्ने पुरानो चिनियाँ भनाइअनुसार चीनले छिमेकी मुलुकलाई पनि पूँजी, प्रविधि र मानव संशाधनबाट आर्थिक अवस्था उठाउन हातेमालो गरिरहेको छ ।’ 
    आफू कुलपति हुँदा अन्तर्राष्ट्रिय सम्बन्ध विस्तार गर्ने क्रममा चीन, भारत, पाकिस्तान, बंगलादेश र इजरायलका कविहरुसँग साक्षत्कार हुँदा नेपाली कविताको लेखन पद्धति कस्तो छ ?भन्ने जिज्ञासा मेटाउने प्रयासस्वरुप यो कविताको अंग्रेजीमा अनुवाद गरिएको प्रसंग जोड्दै पुस्तक समीक्षक एवं कवि गंगा प्रसाद उप्रेतीले नेपालमा जन्मिएका बुद्धभद्र र चीनमा जन्मिएका फाहियानले नेपाल र बुद्धलाई चीनमा चिनाउन, नेपाल र चीन बीचको जनस्तरको सम्बन्ध प्रगाढ बनाउन आजभन्दा करिब १८ सय वर्षअघि नै ठूलो योगदान दिएको चर्चा गर्दै भन्नुभयो, ‘उनको यात्रा विवरण’ले आजको पुस्तालाई नेपाल र चीनको इतिहासको गर्भगृहमा लुकेका चाखलाग्दा धेरै तथ्यहरुलाई उजागर गरेको छ ।’  
     उहाँले भन्नुभयो, ‘फाहियानको यात्रा विवरण’ले नेपाल र चीनको प्राचीनकालीन जनमैत्री सम्बन्ध, बुद्ध धर्मको प्रभाव र बुद्धभद्र तथा फाहियानको द्विपक्षीय भ्रमणले दुई देश बीचको सम्बन्ध बढाउन बलियो जग हालेको इतिहास बुझ्न निकै मद्दत पुग्ने विश्वास लिएको छु । यस अर्थमा लेखकलाई धेरैधेरै बधाई छ । 
     यति धेरै प्रमाणित तथ्यहरु हुँदाहुँदै पनि अझैसम्म बुद्ध भारतमा जन्मिएका थिए, बुद्धभद्र भारतबाट आएका हुन् भन्ने भ्रम चिनियाँ समाज र अन्य बाह्य क्षेत्रमा पाइन्छ । यस्तो भ्रमलाई  चिर्न पनि यो पुस्तक सान्दर्भिक रहको कुरामा उहाँले जोड दिनुभयो । यसलाई चिनियाँँ भाषामा प्रकाशन गर्न सके अझै उद्देश्यले सार्थकता पाउने विश्वास व्यक्त गर्नुभयो ।
     लघु आकारमा लेखिएको उक्त पुस्तकमा मध्य, दक्षिण र दक्षिणपूर्वी एसियाका गरी ३० वटा मुलुकको १५ वर्ष लामो (सन् ३९९–४१४)बुद्ध धर्मको खोजी यात्रा गर्ने ६२ वर्षे बैद्ध भिक्षु ‘फाहियानको यात्रा विवरण’ नेपालका लागि तीनवटा ऐतिहासिक कारणले निकै महत्वपूर्ण देखिन्छ । पहिलो उनको १५ वर्षको लामो यात्रा वृतान्तमा लुम्बिनीको वर्णन गर्ने क्रममा उल्लेख भएको ‘नेपाल’ हालको कपिलवस्तु लुम्बिनी, रामग्राम अयोध्यापुरी क्षेत्र चौथो शताब्दीमै आर्थिक, सामाजिक र सांस्कृतिक रुपले वैभवशाली थियो भन्ने ऐतिहासिक तथ्यको उजागर हुन्छ ।  दोस्रो बुद्धको जन्मस्थल लुम्बिनी हो भन्ने उनको यात्रा विवरणले शाक्यमुनि बुद्धको देश नेपालमा वर्तमान लुम्बिनी नेपालको भूभाग भएको र गौताम बुद्धको जन्मस्थल नेपाल हो भन्ने तथ्यगत प्रमाण विश्वलाई जानकारी गराउन यो पुस्तकले मद्दत गरको छ । तेस्रो नेपाल रचीन बीचको हजारौं वर्ष पुरानो सांस्कृतिक र जनस्तरको सम्बन्ध रहेको ऐतिहासिक  प्रमाण नै उनको यात्रा वृतान्त हो जसले नेपाली बौद्ध भिक्षु बुद्धभद्रसँग फाहियानको भेटपछिको २१ वर्षे लामो निस्वार्थ सहयात्राले पुष्टि गरिदिएको छ । 
    अर्को विमोचित महत्वपूर्ण कृति ‘नयाँ युगमा चीन’ पुस्तकको समीक्षा गर्दै पूर्व राजदूत लीलामणि पौडेलले भन्नुभयो, ‘नेपाल र चीनका बारेमा लेखिएको चौथो कृतिका लागि लेखकलाई  हार्दिक बधाई ।’ ‘चीनको राजधानी बेइजिङमा बसेर विभिन्न गाउँ र शहरको विचरण गर्दै पत्रकारका आँखाले त्यहाँको इतिहास पढेर वर्तमानको परिदृश्य भोगेर, देखेर, अनुभव गरेर तयार गरिएको हुनाले यो पुस्तक गहन र सार्थक रहेको उहाँको दाबी थियो । ‘चीनलाई हेर्ने आँखा नेपाली नै हुनुपर्छ अर्काले बनाइदिएको आँखाले चीनलाई हेरेर मात्र बुझिँदैन ।’ भोकमरी र गरिबीमा परेका झण्डै १० करोड नागरिकलाई गरिबीबाट मुक्त गरेर सबैभन्दा ठूलो मानव अधिकारको उदाहरण चीनले पेश गरेको तथ्यलाई औंल्याउँदै पौडेलले पुस्तकमा वर्णशंकर धानको उत्पादनले चीनको बहुआयामिक गरिबी हटाउन, भोकमरी मेटाउन ठुलो मद्दत पुगेको चर्चा गर्दै यस्तो अभूतपूर्व उपलब्धीबाट नेपालले थुप्रै कुरा सिक्नुपर्नेे धारणा राख्नुभयो ।

    प्रस्तुत पुस्तकमा सी चिनफिङको जीवनी, सीपीसीको शताब्दी यात्रा, विश्व चर्चित परियोजना बीआरआई, चिनियाँ कृषिको आँखी झ्याल, कृषिमा राष्ट्राध्यक्ष सीको रुचीजस्ता शीर्षकले चीनको समग्र पाटोलाई प्रष्ट पारेको छ । 
    सन् २०१२ बाट नयाँ युगमा प्रवेश गरेको चीनले सन् २०३५ सम्ममा मध्यम स्तरको विकास गर्ने र सन् २०४९ सम्ममा आधुनिक विकसित मुलुक बन्ने लक्ष्य निर्धारण गरेको छ । चीनले सन् २०४९ मा नयाँ चीन स्थापनाको शतवार्षिकोत्सव मनाउँदै छ । 
    थुप्रै पे्ररक प्रसंगले भरिएको वर्तमान चीनको समग्र विकासको भावी रणनीति बुझ्न पनि यो पुस्तक अति उपयोगी हुन सक्छ । चीनको ऐनाजस्तो लाग्ने यो पुस्तकमा चीनको विगत, वर्तमान र भविष्यको आकृति एक एक गरेर देख्न सकिन्छ । 
    कार्यक्रममा चिनियाँ मिडिया ग्रुप नेपाली विभागकी प्रमुख चाङ युए (वर्षा), चीन अध्ययन केन्द्रका अध्यक्ष सुन्दरनाथ भट्टराई, चिनियाँ मिडिया ग्रुप सीएमजी नेपाली सेवामा कार्यरत पत्रकार एवं ‘नयाँ युगमा चीन’ का लेखक चेतनाथ आचार्य लगायतले संक्षिप्त शुभकामना मन्तव्य राख्नुभएको थियो ।   

     

     

     


    ‘ 

     

    २०८०, बैशाख २ शनिवार०२:०१:३५
    प्रतिक्रिया
    सम्बन्धित समाचार