थारु जातीको महान पर्व "माघी" हर्सोल्लाससाथ मनाइँदै 

थारु जातीको महान पर्व "माघी" हर्सोल्लाससाथ मनाइँदै 

२०७७, माघ १ बिहिवार

  • 2.4K
    SHARES

  • थारु जातीको महान पर्व "माघी" हर्सोल्लाससाथ मनाइँदै 

    माघ १, कैलाली ।

    पश्चिम नेपालका तराई क्षेत्रमा बसोबास गर्ने थारु समुदायको माघी पर्वको चहलपहल हिजोबाट कैलालीका विभिन्न गाउँबस्तीमा शुरु भएको छ ।

    विशेषगरी पुस अन्तिम दिनदेखि शुरु भई माघ २ गतेसम्म उल्लासपूर्वक मनाइने माघी पर्वमा पुसलाई बिदाइ गरी माघ १ गते अर्थात् नयाँ वर्षलाई स्वागत गर्दै थारु बस्तीमा यो पर्व शुरु भएको थारुहट थारुवान राष्ट्रिय मोर्चा कैलालीका संयोजक माधव चौधरीले जानकारी दिए । 

    हिजो बिहानैदेखि थारु गाउँ तथा बस्तीमा मासुका लागि बङ्गुर, सुँगुर काट्न शुरु भई सकेको संयोजक चौधरीको भनाइ छ । त्यस्तै राति नाचगान गरी रातभर जाग्राम बस्ने, रातभरि आगो ताप्ने, बङ्गुरको मासु, तरुलजस्ता विभिन्न परिकार बनाएर खाने चलनसमेत रहेको उनले बताए ।

    माघे सङ्क्रान्तिका दिन विशेष गरी थारु समुदायमा बिहानै उठेर नजिकैको नदी तलाउमा गई नुवाइधुवाइ गरी आफूभन्दा ठूलाबाट आर्शिवाद लिने गरिन्छ”, संयोजक चौधरीले भने, “आर्शिवाद लिइसकेपछि घरमा अलग्गै छुट्याएर राखिएको चामल, नून, तेल र बेसारलगायतका खाद्यान्न छुने र छुट्याइएका ती चिज घरका छोरीबेटीलाई दिने परम्परा रहिआएको छ ।”

    थारू समुदायको मुख्य पर्व भएकाले तामझामका साथ पर्व मनाइरहेको धनगढी उपमहानगरपालिका– २ बैयाबेहडीका स्थानीय ज्ञानु चौधरीले बताए । उनले भने, “थारू गाउँहरु अहिले माघीमय भएका छन् ।”यो पर्वमा नयाँ वर्ष शुभारम्भ हुने भएकाले नयाँनयाँ लुगाकपडा लगाउने चलन छ ।

    रोजगारीका लागि बाहिरएका पर्व मनाउनका लागि घर पुगिसकेका छन् । पर्वमा विषेशगरी चामलको भातरोटी, ढिक्री, बरिया, घोंगी, सुँगुरको मासु, माछा, गंगेटालगायतका स्थानीय खानाका पकवान खाने चलन छ । 

    बालबालिकादेखि वृद्धवृद्धासम्म रमाउने मुख्य पर्व भएकाले भव्यरुपमा मनाइरहेका धनगढी – २ का स्थानीय माइला चौधरी बताउँछन् । “गाउँमा आफन्त, परिवारका सदस्य तथा साथी मिलेर रमाइलो गरिरहेका छौँ”, उनले भने, “माघीको रौनकले विगतका सम्पूर्ण पीडा भुलाइदिन्छ ।”

    यति मात्र नभएर थारुबस्तीमा माघौटा नाच, सखिया नाच, झुमरा नाच, लाठी नाच, ढमारलगायत लोक गीतसँगै डम्फु र मादलको आवाज पनि गाउँघरमा गुन्जिन लागेको छ ।

    माघी मनाउन हरेक वर्ष गाउँगाउँमा मेला तथा महोत्सवको आयोजना गर्ने गरेको भए तापनि यस वर्ष भने कोरोनाको सङ्क्रमणका कारण खासै मेला महोत्सवको आयोजना गरिएको देखिँदैन । 

    २०७७, माघ १ बिहिवार०८:०७:२४
    प्रतिक्रिया
    सम्बन्धित समाचार