माघ ६, बर्लिन ।
रूसी विपक्षी नेता अलेक्सी नाभाल्नीको मस्कोमा ‘मनमानी’ तरिकाले गिरफ्तार गरिएको भन्दै उनको रिहाईका लागि जर्मन चान्सलर एन्जेला मर्केलले सोमबार माग गरेकी छन् ।
मर्केलका प्रवक्ता स्टेफेन सिबर्टले पत्रकारसँगको कुराकानीमा भनीन्, “चान्सलर मर्केलले रूसी नेता नभाल्नीको ‘मनमानी रूपमा’ गरिएको गिरफ्तारीको घोर भत्र्सना गरेकी छन् ।
गिरफ्तारीले कानूनी शासनका सिद्धान्तहरूको उल्लङ्घन गरेको छ ।” जर्मनीले आइतबार मात्र जर्मनीमा उपचार गराई फर्किएका रुसी विपक्षी नेतालाई तुरुन्त रिहा गर्न पनि आग्रह गरेको छ ।
उपचारका लागि जर्मनीमा पाँच महिना बसी स्वदेश फर्किएको करिब एक घण्टाभित्र नै आइतबार उनलाई मस्कोबाट पक्राउ गरिएको थियो । उनी रूसी राष्ट्रपति भ्लादिमिर पुटिनका कट्टर आलोचक हुन् ।
गत अगष्टमा रूसकै ओम्स्कबाट मस्को जाने विमानमा रहेका समय विमानमा नै अकस्मात विरामी परेका नाभाल्नीलाई आकस्मिक अवतरण गराई स्थानीय एक अस्पतालमा उपचार गरिएको थियो ।
फ्रान्सेली र स्वीडेनी प्रयोगशालामा गरिएको परीक्षणमा नाभाल्नीलाई बेहोस बनाउने सोभियतकालीन रसायन ‘नोभिचोक’ खानामा मिसाएर खुवाइएको जर्मनीले जानकारी गराएको थियो ।
उनलाई जर्मनीको अनुरोधमा आन्तरिक विमानमार्फत् उपचारका लागि बर्लिन लगिएको थियो । जर्मनीमा डाक्टरहरूले नाभाल्नीलाई विष दिइएको कुराको पुष्टि गरेका थिए ।
उनलाई अस्पतालबाट सेप्टेम्बरमा डिस्चार्ज गरिएको थियो तर चिकित्सकको सल्लाह अनुसार त्यहीँ आराम गरिरहेका थिए । एजेन्सी ।