काभ्रेमा निर्वाचनको चहलपहल शुरु

काभ्रेमा निर्वाचनको चहलपहल शुरु

२०७७, माघ ७ बुधवार

  • 2.7K
    SHARES

  • काभ्रेमा निर्वाचनको चहलपहल शुरु

    माघ ७, बनेपा ।

    जिल्ला निर्वाचन कार्यालय काभ्रेपलाञ्चोकले निर्वाचन आयोगको मतदानस्थल तथा मतदान केन्द्र पुनरावलोकन कार्यक्रम २०७७ अनुसार आजदेखि आवश्यक तयारीको प्रारम्भिक कामलाई अगाडि बढाएको छ । 

    पहिलो चरणको काम मतदानस्थल र केन्द्रको अवस्था तथा स्थानीय तहहरुबाट आएको औपचारिक पत्रसहितको सुझावका आधारमा छलफल गरी निर्वाचन आयोगमा सिफारिस गर्ने काम अगाडि बढाएको जिल्ला निर्वाचन कार्यालयका निर्वाचन अधिकारी उमेशकुमार राईले बताए । 

    सो क्रममा नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का प्रतिनिधि नारायण पाण्डे र नेपाली कांग्रेसका प्रतिनिधि महेश पौडेलले निर्वाचन कार्यालयले गरेको आग्रहका आधारमा स्थानीय तहहरुले पठाएको आधिकारिक पत्रबाहेक अरु मतदानस्थललाई अहिलेका लागि नचलाउन सुझाव दिए ।

    उक्त छलफलका क्रममा मतदानस्थल र केन्द्रसँगै जिल्ला निर्वाचन कार्यालयले मतदाता नामावली अद्यावधिकका लागि दाबी विरोध कार्यक्रमअनुसार यही माघ १५ देखि २६ गतेसम्म स्थानीय तहका केन्द्र र जिल्ला निर्वाचन कार्यालय धुलिखेलमा सञ्चालन हुने जनाइएको छ ।

    मतदानका लागि अन्तिम मतदाता नामावली तयार गर्नका लागि शुद्ध मतदाता नामावली तयार गर्न त्रुटि सच्याउने र दोहोरो भएको पाइएमा हटाउने कार्यका लागि नामावली अद्यावधिक गर्ने कार्यक्रम सञ्चालन गर्न लागिएको हो । 

    विसं २०७४ को निर्वाचनमा काभ्रेपलाञ्चोकमा दुई लाख ७२ हजार २९२ मतदाता सङ्ख्या रहेकामा अहिले नयाँ दश हजार २६३ जना थप भएको कार्यालयले जनाएको छ ।

    सोमा अद्यावधिक गर्ने बेलामा त्रुटि सच्याउने र दोहोरो हटाउने गर्दा सो सङ्ख्यामा केही कमी आउन सक्ने निर्वाचन अधिकारी राईले बताए । प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले मतदाता नामावली अद्यावधिक गर्ने राज्यबाट चलाइएको अभियानमा सबै तहबाट सहयोग गर्न आग्रह गरे ।

     

    २०७७, माघ ७ बुधवार०६:३६:४२
    प्रतिक्रिया
    सम्बन्धित समाचार