काठमाडौँ । नेपाल नागरिक उड्ड्यन प्राधिकरण (क्यान)का महानिर्देशक प्रदीप अधिकारीलाई पुर्पक्षका लागि थुनामा पठाउन विशेष अदालतले आदेश दिएको छ।
प्राधिकरणले भक्तपुरमा हेलिप्याड निर्माण गर्ने क्रममा भ्रष्टाचार गरेको अभियोग लागेका अधिकारीलाई विशेषले थुनामा राखेर मुद्दाको बाँकी काम कारबाही अगाडि बढाउन आदेश दिएको हो।
आइतबार विशेष अदालतका न्यायाधीशहरू हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासले अधिकारीलाई थुनामा पठाउन भनेको हो। विशेषले मुरारी भण्डारीबाट ५ लाख धरौटी माग गर्ने आदेश गरेको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले बुधबार अधिकारीलाई पक्राउ गरेको थियो। उनीसँगै क्यानका पूर्व महानिर्देशक भण्डारी पनि पक्राउ परेका थिए।
प्राधिकरणले भक्तपुरको नलिन्चोकस्थित आफ्नो स्वामित्वमा रहेको ३२ रोपनी जग्गामा हेलिप्याड बनाउँदा वातावरणीय प्रभाव मूल्यांकन नगरी अनियमितता गरेको अख्तियारको उजुरीमा उल्लेख छ।