एमालेमा नेतृत्वको चाहना राख्नेहरु अग्निपरीक्षामा

एमालेमा नेतृत्वको चाहना राख्नेहरु अग्निपरीक्षामा

२०८२, मंसिर २९ आइतवार

  • 2.0K
    SHARES

  • एमालेमा नेतृत्वको चाहना राख्नेहरु अग्निपरीक्षामा

    कम्मर भन्दा माथिको भागमा शरिरलाई बॉसले बाँधेर टाउको तल र खुट्टा माथि पारी बॉसको चिरपटले पाइताला र शरिरका अन्य अङ्गमा हुने प्रहार अहिलेको आधुनिक युगमा परिकल्पना समेत गर्न सकिन्न । मानव सभ्यताको विकासले फड्को मारिरहॅदा पछिल्लो युवा पुस्ता विश्वास गर्न पनि नसक्ला ।

    तर, भौतिक परिवर्तन र मानवीय चेतनाको विकासलाई हेर्ने हो भने यी दुईमा आकाश जमिनको फरक देखिन्छ । थोरै मात्रको चेत र विकासले कल्पना पनि गर्न नसकिने अद्भुत विकास संसारभर देख्न सकिन्छ । मानविय चेतना र भैतिक विकासलाई सँगसँगै डोहोर्याउने चुनौति शासकहरुलाई हुन्छ ।

    अझ विश्वव्यापीकरणको प्रभावका कारण नजिकैका छिमेकी सहित अन्य देशको गतिविधिका अवलोकन गर्न सोही ठाउँमै पुग्न पर्ने बाध्यता अब रहेन । प्रविधिको तिब्रतम विकास र यसको प्रभावका कारण मानिस आफुपनि सोही प्रगतिको हिस्सेदार बन्न चाहन्छ । सो नहुँदो हो त विद्रोहका आवाजहरु घन्किन शुरु गरिहाल्छन् ।

    यसै सेरोफेरोमा नेकपा एमालेको ११ औं महाधिवेशन काठमाडौंमा शुरु भएको छ । महाधिवेशनले सभा मार्फत जनतालाई आफ्ना नविकृत विचार, कार्यक्रम, योजना र कार्यदिशाका सन्दर्भमा जानकारी गराउँदै आगामी ५ वर्ष तत्तत्क्षेत्रका पार्टी पदाधिकारी भएर काम गर्ने अवसर प्राप्तिका लागि नेतृत्व चयनको दिशामा मोडिएको छ ।

    जसका लागि आज आइतवारबाट काठमाडौंको भृकुटीमण्डपमा बन्दशत्र शुरु भई मंगलवार सम्ममा एमालेले नयाँ नेतृत्व प्राप्त गर्ने जानकारी गराइएको छ । खासगरि नेतृत्वका सन्दर्भमा चर्को प्रतिस्पर्धा हुने प्रारम्भिक अनुमान गर्न सकिन्छ । देशकै प्रमूख पार्टी भित्रै आफुलाई स्थापित गर्दै आएको एमालेले जनजिविका र स्वाधिनताका विषयमा दरिलो खुट्टा टेकेको भएतापनि शुसासन, पारदर्शिता र जवाफदेहिताका विषयमा अव्वल सावित गर्नुपर्ने चुनौति देखिन्छ ।

    जनताको नजरबाट एकपटक गिरिसकेको पार्टीलाई पुनः उठ्न दशौं- विसौं वर्ष लाग्ने या उठ्दै नउठ्ने समस्या बुझेका जनताका तहमा झपक्कै ढाकेर बसेका एमाले महाधिवेशन प्रतिनिधिले न्यायोचित र विवेकसंगत नै नेतृत्व चयन गर्नेमा कम्तिमा यस महाधिवेशनमा शंका रहेन । सो नहुँदो हो त सांगठनिक अराजकता बढ्न गई जनताले समेत बहिष्कृत गर्नेछन् ।

    राजनीतिलाई पद, प्रतिष्ठा प्राप्त गर्ने साधनमात्र बनाउने या दिनभरि चिया पसलमा विरोधीका कुरा काट्दै पेट पाल्न गलत कार्य समेत गर्न दुस्साहस गर्नेहरु समयान्तरमा आफैँ हराउने झण्डैं ७ लाख कार्यकर्ताबाट चुनिएर आएका करिव २३ सय महाधिवेशन प्रतिनिधिले नबुझ्ने कुरै भएन । कुरा बुझेर पनि बुझ पचाउँदा पार्टी मात्र हैन देशै गम्भिर संकटमा पुगेको हेक्का हुने नै छ ।

    अपारदर्र्शी ढंगबाट धन आर्जन गर्नेहरुले २२ सय त के १० औं हजार प्रतिनिधि नै किन्न सामर्थ्य राख्लान् तर त्यस्ता गलत अभ्यासकर्ता र पक्षधरताका लागि दवाव दिनेहरुलाई शर्मनाक पराजय चखाउँदै राजनीतिको मूलधारबाट सदाका लागि बाहिर पठाउने सामर्थ्य प्रतिनिधिले राखेनन् भने इतिहासमा आफ्नो गरिमामय उपस्थिति निकै महँगो सावित हुनसक्ने जोखिम छ ।

    तत्कालिन पञ्चायती शासकको चर्को यातना भोगेका एमाले नेताहरुमा पार्टी अध्यक्ष केपी शर्मा ओली, ईश्वर पोखरेल, सुरेन्द्र पाण्डे, अष्टलक्ष्मी शाक्य, विष्णु पौडेल, पृथ्वी सुव्वा, खगराज अधिकारी, शंकर पोखरेल, प्रदिप ज्ञवाली लगायत हुँदै बिनोद ढकाल, हालका उपत्यका विशेष प्रदेश कमिटीका अध्यक्ष प्रेम कुमार पराजुली सम्मको लामो पंक्ति एमालेमा मुख्य पदाधिकारी र केन्द्रीय नेतृत्वको चाहनामा देखिन्छन् ।

    त्यस्तै, पछिल्लो पुस्तामा योगेश भट्टराई, गोकर्ण विष्ट, महेश बस्नेत, शेरधन राई, हिक्मत कार्की, अग्नि प्रसाद खरेल, माधव ढुंगेल, विशाल भट्टराई, राजन भट्टराई, भानुभक्त ढकाल, ठाकुर गैरे, एलपी साँवा लिम्बु लगायतको पुस्ता नेतृत्वका आकांक्षी मध्येका हुन् । यस्तै, ३० देखि ५० वर्ष भित्रका युवामा रमेश पौडेल, किरण पौडेल, समिक बडाल, निवर्तमान मधेश प्रदेश मुख्यमन्त्री सरोज कुमार यादव, रामकुमारी झाँक्री लगायतले चर्को जेलनेल कम भोगेको भएता पनि आधुनिक समाजसँगको सामिप्यता लिँदै हुर्किएको पुस्ताको स्पमा परिचित छ ।

    यिनै अनुहारहरु सहितका मध्येबाटै एमालेको रथ चलाउने वैधानिकता प्राप्त गर्न भने अझै ३ दिन कुर्नपर्ने हुन सक्छ । बाँसका चिरपटको प्रहारबाट छियाछिया परेको पाईतालाको दुखाईलाई गहिरो मनन् गर्दै नातावाद, कृपावाद कहिल्यै मेरो प्राथमिकतामा नपर्ने, देशका लागि आफ्नो राजनैतिक, सांगठनिक, प्रशासनिक अनुभव समेतलाई सदुपयोग गर्ने अठोट विशेष प्रदेश अध्यक्ष पराजुलीको रहेको छ ।

    के २५१ पद मध्येमा चुनिन लालायित नेताहरुले यस्तै प्रतिवद्धता व्यक्त गर्न सक्लान् ? गम्भिर, चिन्तन, मनन् र छलफलमा न्यायको आशनमा रहेका प्रतिनिधिहरु देखिन्छन् । नातावाद- कृपावाद अर्थात पक्षधरता भ्रष्टाचारको चरम रुप हो । यो सूचकांकमा नेपाल अत्यन्तै कमजोर मुलुकको स्थानतिर या विश्वमा १०७ औं स्थानमा रहेको छ । 

    २०८२, मंसिर २९ आइतवार०८:४१:४१

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार