रास्वपाको सहरी आकर्षण कमजोर बन्दै गएको बर्षमान पुनको दाबी

रास्वपाको सहरी आकर्षण कमजोर बन्दै गएको बर्षमान पुनको दाबी

२०८२, माघ १८ शनिवार

  • 561
    SHARES

  • रास्वपाको सहरी आकर्षण कमजोर बन्दै गएको बर्षमान पुनको दाबी

    काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता वर्षमान पुनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)प्रति लक्षित गर्दै त्यसमा स्पष्ट राजनीतिक दर्शन र वैचारिक आधारको अभाव रहेको टिप्पणी गरेका छन्।

    ललितपुर-१ मा आयोजित पार्टीको चुनाव परिचालन तथा प्रशिक्षण कार्यक्रममा बोल्दै उनले रास्वपालाई सुसंगठित राजनीतिक दलभन्दा पनि विचार, नीति, एजेन्डा र ऐतिहासिक पृष्ठभूमिबिनाको समूहको रूपमा चित्रित गरे। उनका अनुसार नयाँपनको दाबी गरे पनि पार्टीले स्पष्ट वैचारिक दिशा प्रस्तुत गर्न नसकेको छ।

    पुनले २०७९ सालको निर्वाचनमा पुराना दलप्रति असन्तुष्ट सहरी मतदाताको समर्थनका कारण रास्वपाले सफलता पाएको भए पनि हाल त्यही क्षेत्रमा प्रभाव घट्दै गएको दाबी गरे। उनले काठमाडौँका २, ६, ७ र ८ नम्बर निर्वाचन क्षेत्रमा रास्वपाप्रतिको आकर्षण कमजोर हुँदै गएको उल्लेख गर्दै यसले मतदाताले दीर्घकालीन संगठन र विचार भएका दलको आवश्यकता महसुस गर्न थालेको संकेत गर्ने बताए। ती क्षेत्रहरूमा रास्वपाका उम्मेदवारहरूलाई यसपटक सफलता मिल्न नसक्ने उनको अनुमान छ।

    आर्थिक नीतिका सन्दर्भमा पुनले रास्वपाले अघि सारेको ‘सक्नेले गर्ने’ अवधारणा देशको सामाजिक यथार्थसँग मेल नखाने आरोप लगाए। शिक्षा, स्वास्थ्य र सार्वजनिक सेवा पहुँच क्षमताका आधारमा सीमित गर्ने उदारवादी सोचप्रति रास्वपा झुकेको उनको भनाइ थियो।

    साथै, सामाजिक सञ्जालमार्फत स्थापित पुराना दल र नेतामाथि आक्रामक आलोचना गरेर उदाएको रास्वपाको राजनीतिक भविष्य दीर्घकालीन नहुने दाबी पनि पुनले गरेका छन्।

    २०८२, माघ १८ शनिवार०८:३६:२४

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार