अमेरिकी युद्धपोत आक्रमणका लागि पुगेको इरानी ड्रोन खसालियो

अमेरिकी युद्धपोत आक्रमणका लागि पुगेको इरानी ड्रोन खसालियो

२०८२, माघ २२ बुधवार

  • 513
    SHARES

  • अमेरिकी युद्धपोत आक्रमणका लागि पुगेको इरानी ड्रोन खसालियो

    एजेन्सी । अरब सागर क्षेत्रमा तैनाथ अमेरिकी युद्धपोतलाई आक्रमण गर्ने उद्देश्यसहित तीव्र गतिमा नजिकिएको इरानी ड्रोनलाई अमेरिकाले खसालेको जनाएको छ। अमेरिकी सेनाका प्रवक्ता क्याप्टेन टिम हकिन्सका अनुसार अमेरिकी युद्धपोत ‘अब्राहम लिंकन’तर्फ तीव्र गतिमा आएको ड्रोनलाई सोही युद्धपोतबाट उडेको एफ–३५सी स्टेल्थ लडाकु विमानले युद्धपोत र त्यहाँ कार्यरत सैनिकहरूको सुरक्षाका लागि आत्मरक्षाको क्रममा खसालेको हो।

    घटनाका बेला अमेरिकी युद्धपोत इरानी तटबाट करिब पाँच सय माइल टाढा रहेको बताइएको छ। ड्रोन आक्रमणकै उद्देश्यले आएको हो वा अन्य कुनै कारणले आइपुगेको हो भन्ने विषयमा अस्पष्टता रहेको जनाइएको छ। यद्यपि युद्धपोत नजिक आएपछि ड्रोन खसालिएको थियो। यस घटनामा अमेरिकी पक्षको कुनै उपकरणमा क्षति पुगेको छैन र कुनै सैनिक पनि घाइते नभएको जनाइएको छ।

    यसैबीच वासिङ्टन र तेहरानबीच तनाव बढिरहेका बेला अमेरिका उक्त क्षेत्रमा आफ्नो सैन्य उपस्थिति विस्तार गरिरहेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले आफ्नो आणविक कार्यक्रम सीमित गर्न सम्झौता नगरे सैन्य कारबाही गर्न सक्ने चेतावनी दिँदै आएका छन्। उनले यसअघि तेहरानमा सरकारविरुद्धका प्रदर्शन दमनका क्रममा हस्तक्षेप गर्न सकिने सम्भावनासमेत व्यक्त गरेका थिए।

    ड्रोन खसालिएको घटनापछि ह्वाइट हाउसकी प्रेस सचिव क्यारोलिन लेभिटले अमेरिका र इरानबीच यसै साता वार्ता तय भएको जानकारी दिएकी छिन्। उनले राष्ट्रपति ट्रम्प कूटनीतिक समाधानलाई प्राथमिकता दिने पक्षमा भए पनि आवश्यक परे सैन्य विकल्प प्रयोग गर्न सक्ने संकेत दिएको बताइन्।

    यसअघि इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनीले आफ्नो देशमाथि आक्रमण भए क्षेत्रीय युद्ध भड्किन सक्ने चेतावनी दिएका थिए। मंगलबारको ड्रोन घटनाबारे भने तेहरानले कुनै प्रतिक्रिया दिएको छैन।

    त्यस्तै अर्को घटनामा इरानको इस्लामिक रिभोल्युशनरी गार्ड कोर्प्स (आईआरजीसी) का बलले अमेरिकी झण्डा र चालक दल भएको व्यावसायिक जहाजलाई हैरानी दिएको अमेरिकाले जनाएको छ। अमेरिकी सेनाका अनुसार हर्मुज जलडमरूमध्यमा सैन्य सहयोगपछि अवस्था शान्त बनाइएको थियो।

    त्यसैगरी अमेरिकी विशेष दूत स्टिभ विटकोफ ह्वाइट हाउसको तर्फबाट आगामी वार्तामा सहभागी हुने जनाइएको छ। अमेरिकी सञ्चारमाध्यमका अनुसार उनले शुक्रबार इस्तानबुलमा इरानका विदेशमन्त्री अब्बास अराघ्चीसँग भेट गर्ने तयारी गरेका छन्। उक्त वार्तामा मिस्र, ओमान, पाकिस्तान, कतार, साउदी अरेबिया र संयुक्त अरब इमिरेट्सका विदेशमन्त्रीहरूलाई पनि निमन्त्रणा गरिएको बताइएको छ।

    इरानका राष्ट्रपति मसूद पेजेस्कियनले उपयुक्त वातावरण बने अमेरिकासँग वार्ता गर्न तयार रहेको बताएका छन्। प्रस्तावित वार्ताअघि वासिङ्टनले गत वर्ष इरानमाथि गरिएको हवाई आक्रमणको स्मरण गराउँदै आएको छ। ट्रम्पले उक्त आक्रमणले इरानका आणविक समृद्धिकरण केन्द्रहरू ध्वस्त पारेको दाबी गरेका थिए।

    गत वर्ष इजरायल र इरानबीच १२ दिनसम्म चलेको युद्धका क्रममा अमेरिकी हवाई आक्रमण भएको थियो। सो क्रममा इजरायली सेनाले पनि इरानका आणविक केन्द्र, वैज्ञानिक, सैन्य कमाण्डर तथा मिसाइल भण्डारलाई निशाना बनाएको थियो। त्यसको जवाफमा इरानले इजरायलतर्फ सयौँ मिसाइल र ड्रोन प्रहार गरेको थियो। साथै कतारस्थित प्रमुख अमेरिकी हवाई अड्डामा पनि मिसाइल आक्रमण गरेको थियो।

    यसबीच अमेरिकी आक्रमण भए के हुन सक्छ भन्ने विषयमा विभिन्न सम्भावनाबारे चर्चा भइरहेको छ। पछिल्लो समय ट्रम्पले इरानी अधिकारीहरू सम्झौताका लागि इच्छुक देखिएको बताएका छन्। साथै उनले आणविक कार्यक्रम रोक्न र प्रदर्शनकारीमाथि दमन नगर्न इरानलाई आग्रह गरेका छन्।

    मानव अधिकारसम्बन्धी अमेरिकी संस्था एचआरएएनएले सरकारविरुद्धका प्रदर्शनमा ६ हजार ४२४ प्रदर्शनकारी, १५२ बालबालिका, सरकारसँग सम्बन्धित २१४ व्यक्ति र ५८ सर्वसाधारणको मृत्यु भएको पुष्टि गरेको जनाएको छ। थप ११ हजार २८० जनाको मृत्युबारे अनुसन्धान भइरहेको पनि बताइएको छ। नर्वेमा आधारित ‘इरान ह्युमन राइट्स’ले मृतक संख्या अन्ततः २५ हजारभन्दा बढी हुन सक्ने चेतावनी दिएको छ।

    इरानी अधिकारीहरूले भने कम्तीमा ३ हजार ११७ जनाको मृत्यु भएको स्वीकार गर्दै अधिकांश सुरक्षा बलका सदस्य वा दंगाकर्ताबाट मारिएका सर्वसाधारण रहेको दाबी गरेका छन्। इरानी मुद्रा कमजोर हुनु र जीवनयापन महँगो हुनुका कारण सुरु भएको असन्तोष पछि राजनीतिक परिवर्तनको मागमा परिणत भएको थियो। खामेनीले उक्त आन्दोलनलाई अमेरिका र इजरायलले उक्साएको विद्रोहको रूपमा व्याख्या गरेका छन्।

    २०८२, माघ २२ बुधवार०७:५७:१९

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार