पोर्चुगलमा गरियो नेपाली दूतावासको औपचारिक उद्घाटन

पोर्चुगलमा गरियो नेपाली दूतावासको औपचारिक उद्घाटन

२०८२, फाल्गुण ९ शनिवार

  • 661
    SHARES

  • पोर्चुगलमा गरियो नेपाली दूतावासको औपचारिक उद्घाटन

    काठमाडौँ । पोर्चुगलको राजधानी लिस्बनस्थित नेपाली दूतावासको उद्घाटन गरिएको छ । दूतावासको बिहीबार एक समारोहका बीच परराष्ट्र सचिव अमृतबहादुर राई र पोर्चुगलका विदेश मामिला तथा सहयोग राज्यसचिव डा। आना इसाबेल जेभियरले संयुक्त रूपमा उद्घाटन गरेका छन् । 

    गत अप्रिलमा स्थापना भई सेवा प्रवाह गर्दै आएको दूतावासको हाल औपचारिक रूपमा उद्घाटन गरिएको हो ।

    सो अवसरमा परराष्ट्र सचिव राईले दुई देशबीचको द्विपक्षीय सम्बन्धलाई अझ सुदृढ र प्रगाढ बनाउन दूतावासले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने बताए । यसैगरी पोर्चुगलका विदेश मामिला सचिव डा. जेभियरले खुसी व्यक्त गर्दै दूतावासलाई पोर्चुगल सरकारको निरन्तर सहयोग रहने आश्वासन दिईन् । 

    पोर्चुगलका लागि नेपाली राजदूत प्रकाशमणि पौडेलले दूतावासले दुई देशबीचको द्विपक्षीय सम्बन्ध थप सुदृढ बनाउन पुलको रूपमा काम गर्ने बताए । उद्घाटन समारोहमा पोर्चुगलको विदेश मन्त्रालयका उच्चपदस्थ अधिकारी, कूटनीतिक नियोगका प्रतिनिधि, दूतावासका कर्मचारी तथा सञ्चारकर्मीको सहभागिता थियो । 

    यसैबीच, दूतावासले नेपाली समुदायसँग अन्तर्क्रिया गरेको थियो । अन्तर्क्रियामा सहभागी वक्ताहरूले पोर्चुगलवासी नेपालीले भोग्नुपरेका समस्या, दूतावासको सेवा र कागजी प्रक्रियामा देखा परेका समस्यालगायत विषयमा गुनासो गरेका थिए ।

    उनीहरूले दलालले प्रहरी चारित्रिक प्रमाणपत्रमा (प्रहरी रिपोर्ट) दिल्लीस्थित पोर्चुगिज दूतावास र नेपाली दूतावासको नक्कली छाप र हस्ताक्षर प्रयोग गरी ठगी गर्दा पोर्चुगल बसाइको वैधानिकताको प्रक्रियामा रहेका सयौँ नेपाली समस्यामा परेको भन्दै सोको समाधानका लागि पहल गरिदिन सचिव राईसमक्ष गम्भीर ध्यानाकर्षण गराएका थिए । 

    सहभागीहरूले नेपालमा पोर्चुगलको दूतावास नभएकै कारण दिल्ली धाउनुपर्ने बाध्यता रहेकाले नेपालमै पोर्चुगलको भिसा सेन्टर स्थापनाका लागि पहल गर्न आग्रह गरेका थिए ।

     

    २०८२, फाल्गुण ९ शनिवार०८:४१:३४

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार