काठमाडौं । मतदाता सचेत छन् र उमेदवार विज्ञ, प्राविधिक तथा व्यावसायिक छ भने अन्त कतै जानुपर्दैन काठमाडौं क्षेत्र नं १ लाई हेरे पुग्छ ।
स्थानिय तहको निर्वाचनमा शक्तिशाली देखिने काठमाडौं-१ मा एमालेले यसअघिका ४ वटै संघिय संसदको निर्वाचनमा नतिजा आफ्नो पक्षमा पार्न सकेको थिएन ।
सो तथ्यलाई चुनौतिको रुपमा लिँदै एमालेले विज्ञ एवं शुसासन अभियन्ता उमेदवार मोहनराज रेग्मीलाई मैदानमा उतारेको छ । चुपचाप लेखापरीक्षण विधाबाट अगाडि बढिरहेका सरल, मिजाशिला र अनुशासित रेग्मीलाई निर्वाचन लड्न क्षेत्रीय स्तरबाटै माग भएपछि उनी तयारी भएका हुन् ।
नेकपा एमाले केन्द्रीय लेखाआयोग सदस्यमा २ कार्यकाल सफल जिम्मेवारी निर्वाह गरिसकेका रेग्मी पार्टी कार्यकर्तामाझ लोकप्रिय मानिन्छन् । समाजसेवाका अतिरिक्त, प्राविधिक ज्ञानमा रुची राख्ने रेग्मी अडिटर्स एशोसिएसन नेपालका संस्थापक सचिव सहित ३ कार्यकाल सम्पन्न गर्ने सफल अध्यक्ष हुन् ।
एक समय अडिटरहरुको अस्तित्वमै चुनौति आईरहँदा यसको महत्व र उपादेयताबारे आन्दोलित हुँदै पेशालाई मर्यादित एवं सम्मानजनक बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने मध्येमा उनी अग्रपंक्तिमा छन् । जसले आज साना देखि ठूला सम्म व्यवसाय, उद्योग संचालन गर्ने आम नेपाली जनतालाई ठूलो राहत दिएको छ ।
शुसासन कायम गर्दै भ्रष्टाचार शुन्यतामा झारेर विज्ञताका आधारमा रचनात्मक ढंगले आफ्ना जिम्मेवारी जवाफदेहीपूर्ण सम्पन्न गर्नुपर्ने विचार राख्ने काठमाडौं शंखमुल निवासी रेग्मीलाई यहाँका जनताले अपार समर्थन देखाएका छन् ।
देशैभर विज्ञ उमेदवार खोजी भईरहँदा जनताको नजरमा अधिक रुचाईएका उमेदवारमा रेग्मी अत्यधिक चर्चामा छन् ।
यस क्षेत्रमा आफ्नो जितप्रति माहोल बनाउन कस्सिएका राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष रविन्द्र मिश्रले सामाजिक संजालबाट सहयोग आव्हान गरेर आलोचित बनेका छन् भने क्षेत्रका स्थानिय कार्यकर्ताको पनि उमेदवार बन्ने चाहना विपरीत पुनः मिश्र उमेदवार बनेर आएपछि सो समस्या सुल्झाउनमै समय व्यतित गर्नुपरेको स्थानीयको भनाइ छ ।
त्यस्तै, २०६४ साल देखि लगातार जित्दै आएका प्रकाशमान सिंहलाई टिकट प्राप्त नहुँदा युवा नेता प्रवल थापा क्षेत्री मैदानमा छन्। यद्यपि थापा आफैँ भने ढुक्कका साथ मैदानमा जान नसकेको अवस्था छ ।
सोही बिच पुर्व पार्टी सभापति शेरवहादुर देउवा मत नमाग्ने, नहाल्ने आशयका साथ अकस्मात सिङ्गापुर उडेपछि कांग्रेस वृद्धमा सन्नाटा छाएको छ । यो आन्तरिक संघर्षमा रुमलिएको कांग्रेस अब कसरी अगाडी बढ्ने समस्याको चूरो पत्ता लगाउनमै समय खर्च गर्नुपरेको स्थानियको मत छ ।
नयाँको नारा दिएर मैदानमा होमिएकी राष्ट्रिय स्वतन्त्र पार्टीकी केन्द्रीय सदस्य रन्जु दर्शना केहि दिन अगाडि सुत्केरी भए पश्चात मत मागेर हिॅड्न सक्ने अवस्थामा छैनन् । उनी यसअघिको निर्वाचनमा काठमाडौं-५ बाट एक पटक र महानगरपालिका प्रमुखमा निर्वाचन लडिसेकेकी हुनाले आफैमा भने परिक्षित उमेदवार हुन् ।
नेपाली कम्युनिष्ट पार्टीकी कृतु भण्डारी मैदानमा त छन् । तर, जितको माहोल बनाउन ठूलै पापड बेल्नुपर्ने स्थानियको बुझाई छ ।
मजदुर, विध्यार्थी, प्रशासक, उच्च प्रशासकहरू सम्मको बसोबास रहेको यस क्षेत्रले निश्चित रुपमा विज्ञता र विनयतालाई कदर गर्ने एक स्थानियले बताए । 'जनताको घरदैलोका क्रममा जनताको समर्थन र खुलापन हेर्दा रेग्मी अत्यधिक जितको भोकका साथ मैदानमा दौडिरहेका लडाकु जस्ता देखिन्छन्,'- अर्का स्थानियको मत छ ।
यस क्षेत्रमा काठमाडौं महानगरपालिकाका चारवटा वडाहरु क्रमशः वडा नं १०, ११, २९ र ३१ पर्दछन् । यहाँ जम्मा मतदाताको संख्या ४८ हजार ४ सय ८९ रहेको छ ।