एजेन्सी । अमेरिका-इजरायल र इरानबीचको युद्ध आठौँ दिनमा प्रवेश गर्दा मध्यपूर्वमा युद्धको खतरा झनै चुलिएको छ। अमेरिकी प्रशासनले आज राति इरानमाथि हालसम्मकै सबैभन्दा ठूलो र निर्णायक सैन्य आक्रमण गर्ने घोषणा गरेको छ।
अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले फक्स न्युजसँगको कुराकानीमा यसपटकको मुख्य निशाना इरानका मिसाइल उत्पादन गर्ने कारखाना र लन्चरहरू हुने स्पष्ट पारेका छन्। उनका अनुसार यो कारबाहीको उद्देश्य इरानको मार क्षमतालाई पूर्ण रूपमा ध्वस्त पारी उसलाई सैन्य रूपमा कमजोर तुल्याउनु हो।
तनावको यो शृङ्खला शुक्रबार रातिदेखि नै थप हिंसात्मक बनिरहेको छ। इजरायलले इरानको राजधानी तेहरानस्थित मेहराबाद विमानस्थलमा भीषण हवाई आक्रमण गरेको थियो। जसका कारण विमानस्थल परिसरमा आगो र धुवाँको मुस्लोले आकाश भरिएको थियो। यस आक्रमणले इरानको सामरिक सञ्चार र सैन्य आपूर्तिमा ठूलो असर पुर्याएको प्रारम्भिक अनुमान गरिएको छ।
यसैबीच, यो युद्धमा रूसको प्रवेशले नयाँ मोड ल्याइदिएको छ। वासिङ्टन पोस्टका अनुसार रूसले इरानलाई गोप्य ‘इन्टेलिजेन्स’ सहयोग उपलब्ध गराइरहेको खुलासा भएको छ। मस्कोले मध्यपूर्वमा तैनाथ अमेरिकी युद्धपोत र सैन्य विमानहरूको सटिक अवस्थिति (लोकेशन) सम्बन्धी जानकारी इरानलाई दिएको दाबी गरेको छ।
रूसी सहयोगमा प्राप्त यस ‘टार्गेटिङ इन्टेलिजेन्स’ का कारण इरानले अमेरिकी सैन्य आधार शिविरहरूलाई सिधै निशाना बनाउन सक्ने जोखिम बढेको भन्दै अमेरिकी अधिकारीहरूले गम्भीर चिन्ता व्यक्त गरेका छन्। आज रातिको प्रस्तावित अमेरिकी आक्रमणले यो द्वन्द्वलाई कुन दिशामा लैजान्छ भन्नेमा विश्व समुदायको ध्यान केन्द्रित भएको छ।