एजेन्सी । इरानले अमेरिका-इजरायलले गरेको आक्रमणको प्रत्याक्रमणको केन्द्र भने खाडी राष्ट्रहरूलाई बनाएको छ। आफ्ना शीर्ष अधिकारीहरू एकपछि अर्को गर्दै मारिएपछि इरानले विश्वभर ऊर्जा निकासी गर्दै आएका खाडी राष्ट्रहरूको उर्जा केन्द्रलाई आफ्नो निशाना पारेको छ।
मध्यपूर्वमा लगातार ऊर्जा केन्द्रहरुमा आक्रमण गर्दा अर्बौं डलरको क्षती भएको छ। बुधबार खाडीका देशहरूको ऊर्जा संरचनामाथि आक्रमण भएपछि तेलको मूल्य आकाशिएको छ। कतारका ऊर्जा केन्द्रहरूमा आगलागी भएको र साउदी अरबमा हवाई खतराहरू निष्क्रिय पारिएको रिपोर्ट आएको छ।
कतारको रक्षा मन्त्रालयकाअनुसार इरानले कतारको मुख्य ऊर्जा केन्द्र रास लाफान औद्योगिक शहरमा ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको छ, जसले ठूलो क्षति पुर्याएको छ। गृहमन्त्रालयले छुट्टै जानकारी दिँदै रास लाफान क्षेत्रमा इरानी आक्रमणका कारण लागेको आगो नियन्त्रणमा लिने प्रयास जारी छ तर यो आक्रमणमा मानवीय क्षति भने भएको छैन।
खाडी देशको अर्थतन्त्रको आधार मानिने यो औद्योगिक क्षेत्र युद्धभरि इरानी क्षेप्यास्त्रको निशानामा परिरहेकै थियो। यसअघि भएको आक्रमणले पनि उल्लेखनीय क्षति पुर्याएको कतार इनर्जीले जनाएको छ।
साउदी अरबका विदेशमन्त्री प्रिन्स फैसल बिन फरहानले क्षेत्रीय आक्रमणबारे अरब र इस्लामिक देशका विदेशमन्त्रीहरूसँगको बैठकपछि आवश्यक परे इरानविरुद्ध सैन्य कदम चाल्ने अधिकार सुरक्षित रहेको बताए।
उनले भने, ‘आज इरानको सन्देश स्पष्ट कूटनीतिक भेट भइरहेका बेला रियादलाई निशाना बनाइनु संयोग होइन।’ राजधानीमाथि आएको ब्यालेस्टिक क्षेप्यास्त्रलाई साउदी वायु प्रतिरक्षाले निष्क्रिय पारेको बताए।
‘इरान छिमेकीहरूसँग संवादमा विश्वास गर्दैन, दबाब सिर्जना गर्न खोज्छ। तर त्यो सफल हुने छैन’ उनकाअनुसार साउदी अरब कुनै पनि दबाबमा नपर्ने र आवश्यक परे देश र आर्थिक स्रोतको सुरक्षाका लागि कदम चाल्न पछि नहट्ने बताए।
बुधबार इरानले अमेरिका र इजरायलले दक्षिण पार्स ग्यास क्षेत्र (विश्वकै सबैभन्दा ठूलो प्राकृतिक ग्यास क्षेत्र) लगायत आफ्ना ऊर्जा केन्द्रहरूमा आक्रमण गरेको आरोप लगाउँदै खाडी क्षेत्रका ऊर्जा पूर्वाधारहरूमा आक्रमण केन्द्रित गरेको थियो। रियादका दुईवटा रिफाइनरीमाथि पनि आक्रमण भएको साउदी विदेशमन्त्रीले बताएका छन्। साथै कतारको रास लाफान क्षेत्रमा भएको इरानी आक्रमणले व्यापक क्षति पुर्याएको जनाइएको छ।
यी आक्रमणहरूका कारण विश्व बजारमा तेलको मूल्य तीव्र रूपमा बढ्दैप्रति ब्यारेल ११० डलरसम्म पुगेको छ। यसअघि इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कोर्प्स (आइआरजीसी) ले चेतावनी दिँदै अमेरिका र इजरायलले आफ्ना तेल तथा ग्यास केन्द्रहरूलाई निशाना बनाएको आरोप लगाउँदै त्यसको कठोर मुल्य चुकाउनुपर्ने बताएको थियो।
त्यस्तै, कतारले इरानका सैन्य र सुरक्षा अधिकारीहरूलाई देशनिकाला गरेको छ। केही अधिकारीहरुलाइ २४ घन्टाभित्र देश छाड्न चेतावनी जारी गरेको छ। अर्कोतर्फ बेलायतको समुद्री व्यापार सञ्चालन केन्द्रकाअनुसार बुधबार राति यूएईको पूर्वी तट नजिक, होर्मुज जलडमरूमध्य आसपास एक जहाजमाथि आक्रमण गरिएको छ।