एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई ४८ घण्टाभित्र उर्जा मार्गका रुपमा परिचित ‘स्ट्रेट अफ हर्मुज’ खोल्न अन्तिम चेतावनी दिएको जवाफमा इरानले आफ्ना उर्जा केन्द्रमा आक्रमण भएमा खाडीका कुनैपनि अमेरिकी उर्जा पूर्वाधार बाँकी नरहने चेतावनी दिएको छ।
ट्रम्पले ट्रुथ सोसलमा पोस्ट गर्दै इरानले ४८ घण्टाभित्र ‘कुनै धम्कीबिना’ हर्मुज जलडमरूमध्य पूर्ण रूपमा नखोलेमा अमेरिका इरानका ऊर्जा केन्द्रहरू (पावर प्लान्टहरू) ध्वस्त पार्ने बताएका थिए। उनले त्यसको सुरुवात सबैभन्दा ठूलो केन्द्रबाट गरिने बताएका छन्।
उनले लेखेका छन् ‘यदि इरानले यस क्षणदेखि ४८ घण्टाभित्र ‘स्ट्रेट अफ हर्मुज’ पूर्ण रूपमा, कुनै पनि धम्कीबिना नखोलेमा, संयुक्त राज्य अमेरिका इरानका विभिन्न ऊर्जा केन्द्रहरूमा आक्रमण गरी तिनलाई पूर्ण रूपमा नष्ट गर्ने छ र यसको सुरुवात सबैभन्दा ठूलो केन्द्रबाट गरिने छ।’
जवाफमा इरानी सञ्चारमाध्यामहरुले त्यहाँका अधिकारीहरुलाइ उदृत गर्दै उर्जा केन्द्रका संरचनामा आक्रमण गरेमा खाडीका कुनैपनि अमेरिकासँग सम्बन्धित उर्जा केन्द्रहरु बाँकी नरहने चेतावनी दिएको छ। खाडीका अधिकांस ठुला ऊर्जा केन्द्रहरुमा कुनैन कुनै रुपमा अमेरिकी लगानी रहेको छ।
इरानी सरकारी सञ्चारमाध्यमले भने ‘यदि इरानका आफ्नै इन्धन तथा ऊर्जा संरचनामा आक्रमण भयो भने इरानले खाडी क्षेत्रभर रहेका अमेरिकासँग सम्बन्धित ऊर्जा पूर्वाधारलाई निशाना बनाउने छ र ति कुनैपनि बाँकी रहने छैनन्।’
यो चेतावनी ट्रम्पले दिएको नयाँ अल्टिमेटमपछि आएको हो, जसमा उनले ४८ घण्टाभित्र हर्मुज जलडमरूमध्य पुनः नखोलेमा इरानका ऊर्जा केन्द्रहरू ध्वस्त पारिने बताएका थिए।
स्मरण रहोस्, अमेरिका र इजरायलले फेब्रुअरी २८ मा आक्रमण गरेपछि इरानले व्यस्त र विश्व उर्जाको २० प्रतिशत आवतजावत हुने मार्गका रुपमा रहेको ‘स्ट्रेट अफ हर्मुज’लाई बन्द गरिदिएको छ। इरानको अनुमति बिना कुनैपनि जहाजहरु उक्त बन्दरगाहबाट आवतजावत गर्न सकेका छैनन्। यो जलमार्ग विश्वकै सबैभन्दा व्यस्त तेल ढुवानी मार्गका रुपमा परिचित छ।
उत्तरतर्फ इरान र दक्षिणतर्फ ओमान तथा संयुक्त अरब इमिरेट्स (यूएई) बीच रहेको यो ‘जलडमरू’ प्रवेश र निकासमा करिब ५० किलोमिटर चौडाइको छ भने सबैभन्दा साँघुरो भागमा करिब ३३ किलोमिटर मात्रै छ। यसले खाडी क्षेत्रलाई अरब सागरसँग जोड्छ।
विश्वको करिब २० प्रतिशत तेल र तरल प्राकृतिक ग्यास (एलएनजी) यही मार्गबाट ओसारपसार हुने गर्छ। यहाँबाट इरान मात्र होइन, इराक, कुवेत, कतार, साउदी अरेबिया र यूएईजस्ता देशहरूको तेल पनि ढुवानी हुन्छ।
यस मार्ग बन्द हुँदा के असर पर्छ?
सामान्य अवस्थामा हरेक महिना करिब ३,००० जहाज यस जलमार्ग हुँदै आवतजावत गर्छन्। तर पछिल्लो समय इरानले तेल बोकेका ट्यांकर तथा अन्य जहाजमा आक्रमण गर्ने चेतावनी दिएपछि यो संख्या निकै घटेको छ।
मार्च १८ सम्म एएफपी समाचार संस्थाको तथ्यांकअनुसार, युद्ध सुरु भएदेखि कम्तीमा २१ जहाज आक्रमणमा परेका, निशाना बनाइएका वा आक्रमणको रिपोर्ट गरेका छन्।
यस युद्धका कारण विश्वभर इन्धनको मूल्य आकासिएको छ। कच्चा तेलको मूल्य प्रति ब्यारेल १०० डलर नाघिसकेको छ, जुन यस वर्ष मात्रै झण्डै ७० प्रतिशतले बढेको हो भने गत वर्षको तुलनामा करिब ५० प्रतिशतले बढी हो।