काठमाडौं । आगामी शैक्षिक शत्र २०८३ का लागि बुढानिलकण्ठ नगरपालिका भित्र संचालित १३ वटा संस्थागत विद्यालयले मात्र 'क' वर्गको मापदण्ड पूरा गरेका छन् । हाल नगरभित्र संचालित ८१ वटा विद्यालय मध्ये १३ वटाले मात्र 'क' वर्गको मापदण्ड पूरा गरेका हुन् ।
यसरी मापदण्ड पूरा गर्नेमा ड्याफोडिल बोर्डिङ स्कुल, रिलायन्स पब्लिक स्कुल, जोसेफ हाई स्कुल, सेन्ट जेभियर्स इंगलिस एकाडेमी, बुढानिलकण्ठ स्कूल, युरो स्कुल, ईम्पेरियल वर्ल्ड स्कुल, ठ्रुंगम ईन्टरनेशनल एकेडेमी, भ्याली पव्लिक हाई स्कुल, लोयल्टी एकेडेमी, काष्ठमण्डप विद्यालय, दिक्षालय नेपाल फाउण्डेशन र त्रिज्योति मावि कपन रहेका छन् ।
त्यस्तै, ५४ वटा विद्यालय 'ख' वर्गमा र १४ वटा 'ग' वर्गमा परेका छन् । विद्यालय वर्गिकृत गरिँदा मूलतः भौतिक पूर्वाधार, विद्यार्थी संख्या, अध्यापन शुल्क र शिक्षक कर्मचारीलाई प्रदान गरिने तलव भत्ता लगायतका सेवासुविधाका आधारमा गर्ने गरिएको छ ।
नगरपालिकाको नगर शिक्षा समितिको चैत्र २६ गते बसेको बैठकले आगामी शैक्षिक शत्रका लागि विभिन्न शुल्क समेत सार्वजनिक गरेको छ । जस अन्तर्गत कक्षा १० का विद्यार्थीले 'क' वर्गका विद्यालयका लागि रु ७७५५, 'ख' वर्गका लागि रु ६४६०, 'ग' वर्गका लागि रु ५१७० मासिक शुल्क तिर्नु पर्ने छ ।





