अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र जर्मन चान्सलर फ्रेडरिच मर्जबीच बढ्दो मतभेदकाकारण अमेरिकाले जर्मनीमा रहेका आफ्ना करिब ५,००० सैनिक फिर्ता गर्ने निर्णय गरेको छ।
इरानसँगको युद्धलाई लिएर अमेरिकी राष्ट्रपति ट्रम्प र चान्सलर मर्जबीच चर्किएको विवादका बीच अमेरिकी रक्षा विभागले जर्मनीबाट ५ हजार सैनिक फिर्ता बोलाउने निर्णयसँगै समग्र युरोप र अमेरिकाको सम्बन्धनै तिक्ततापूर्ण बन्ने दिशामा अघि बढेको हो।
यो निर्णय ट्रम्पले मर्जमाथि आलोचना गरेको एक दिनपछि आएको हो।
मर्जले इरानी वार्ताकारहरूसामु अमेरिका ‘अपमानित’ भएको बताएका थिए। बिहीबार सामाजिक सञ्जालमार्फत ट्रम्पले मर्जले ‘अत्यन्त खराब काम गरिरहेको’ भन्दै उनको आलोचना गरेका थिए। उनले जर्मनीमा आप्रवासन र ऊर्जा संकटजस्ता थुप्रै समस्याहरू रहेको पनि बताएका थिए।
ट्रम्पले यसअघि इटाली र स्पेनबाट समेत अमेरिकी सैनिक फिर्ता गर्ने संकेत दिएका थिए। हाल जर्मनीमा अमेरिकाको ठूलो सैन्य उपस्थिति रहेको छ। गत डिसेम्बरसम्मको तथ्यांकअनुसार त्यहाँ विभिन्न सैन्य अड्डाहरूमा ३६ हजारभन्दा बढी अमेरिकी सक्रिय सैनिक तैनाथ छन्।
पेन्टागनका प्रवक्ता सिन पर्नेलले जारी गरेको वक्तव्यमा यो आदेश अमेरिकी रक्षा सचिव पेट हेगसेथबाट आएको बताएका छन्।
उनले भने, ‘युरोपमा अमेरिकी सैन्य उपस्थितिको विस्तृत समीक्षा तथा त्यहाँको सुरक्षा आवश्यकता र अवस्थालाई ध्यानमा राखेर यो निर्णय गरिएको हो।’
उनका अनुसार सैनिक फिर्ता प्रक्रिया आगामी ६ देखि १२ महिनाभित्र पूरा हुने अपेक्षा गरिएको छ। नेटो गठबन्धनका लामो समयदेखि आलोचक रहँदै आएका ट्रम्पले ‘स्ट्रेट अफ हर्मुज’ पुनः सञ्चालन गर्न गरिएका सैन्य अभियानमा सहयोग नगरेको भन्दै अमेरिकी सहयोगी देशहरूमाथि लगातार असन्तुष्टि व्यक्त गर्दै आएका छन्।
बिहीबार पत्रकारहरूले इटाली र स्पेनबाट पनि अमेरिकी सैनिक फिर्ता गर्ने सम्भावनाबारे सोध्दा अमेरिकी राष्ट्रपति म्यलबमि त्चगmउ ले भने, ‘सायद गर्छु, आखिर किन नगर्नेरु’ उनले इरान युद्धप्रति इटाली र स्पेनको प्रतिक्रियाको आलोचना गर्दै आफूलाई कुनै सहयोग नगरेको बताए। उनले स्पेनको व्यवहार त झन् खराब रहेको भन्दै आलोचना गरेका थिए। उनले सबैले एउटै जवाफ दिएको बताउँदै भने ‘उनीहरुको जवाफ थियो, हामी यसमा संलग्न हुन चाहँदैनौँ।’
यसैबीच जर्मन चान्सलरले यसै साता विश्वविद्यालयका विद्यार्थीहरूसँग कुरा गर्दै भनेका थिए, ‘अमेरिकासँग स्पष्ट रणनीति नै देखिँदैन’ साथै उनले अमेरिकाले कस्तो रणनीतिक निकास रोज्न सक्छ भन्ने पनि आफूले नदेखेको बताए। उनले भने ‘इरानीहरू वार्तामा निकै माहिर देखिन्छन् अझ भनौँ, वार्ता नगरी समय बिताउन झन् सिपालु छन्। उनीहरूले अमेरिकी प्रतिनिधिमण्डललाई इस्लामाबादसम्म बोलाएर कुनै नतिजाविना फर्काइदिए।’ मर्जले इरानी नेतृत्वका कारण अमेरिका अपमानित भइरहेको बताएका थिए।
यसको जवाफमा ट्रम्पले आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोसलमा प्रतिक्रिया दिँदै मर्जले इरानसँग परमाणु हतियार हुनु ठीक ठानेको र उनी के बोलीरहेका छन भन्ने समेत हेक्का नराखेको आरोप लगाएका थिए। उनले भनेका थिए ‘त्यसैले जर्मनी आर्थिक तथा अन्य धेरै क्षेत्रमा यति कमजोर बन्दै गएको हो१’
युरोपमा अमेरिकाको सबैभन्दा ठूलो सैन्य उपस्थिति जर्मनीमै रहेको छ। त्यहाँ करिब ३६ हजार अमेरिकी सैनिक तैनाथ छन्। तुलना गर्दा इटालीमा करिब १२ हजार र बेलायतमा करिब १० हजार अमेरिकी सैनिक रहेका छन्। तीमध्ये धेरै सैनिक जर्मनीको दक्षिण–पश्चिमी शहर काइजरस्लाउटर्न नजिक रहेको रमस्टेइन एयर बेसमा तैनाथ छन्। ट्रम्पले यसअघि पनि जर्मनीबाट अमेरिकी सैनिक घटाउने प्रस्ताव गरेका थिए, तर ती अहिलेसम्म कार्यान्वयनमा आएका थिएनन्।
जर्मनीभन्दा बढी अमेरिकी सैनिक उपस्थिति केवल जापानमा मात्र रहेको छ। सन् २०२० मा जर्मनीबाट १२ हजार अमेरिकी सैनिकलाई अन्य नेटो देशहरू वा अमेरिकामै फर्काउने प्रस्ताव आएको थियो। तर त्यसलाई अमेरिकी कंग्रेसले रोकेको थियो र पछि राष्ट्रपति जो बाइडेनले उक्त निर्णय उल्टाइदिएका थिए। -एजेन्सी ।