प्रधानन्यायाधिश नियुक्तिमा परम्परा कि क्रमभंगता ? 

प्रधानन्यायाधिश नियुक्तिमा परम्परा कि क्रमभंगता ? 

२०८३, बैशाख २४ बिहिवार

  • 453
    SHARES

  • प्रधानन्यायाधिश नियुक्तिमा परम्परा कि क्रमभंगता ? 

    काठमाडौं । एक महिना लामो अन्योलतालाई चिर्दै प्रधानन्यायाधीश नियुक्ति सिफारिसका लागि आज संवैधानिक परिषदको बैठक बस्दै छ । बैठक साँझ ५ बजे बस्न लागेको हो ।

    आजको बैठकको प्रमूख कार्यसूची नै ‘प्रधानन्यायाधीशको नियुक्ति सिफारिस’ रहेको मंगलवारै सार्वजनिक भएको छ । 

    प्रकाशमानसिंह राउत ६५ वर्षे उमेरहदले गत चैत १८ गते प्रधानन्यायाधीश पदबाट अवकाश भएपछि बरिष्ठतम न्यायाधीशको रुपमा सपना प्रधान मल्ल कायम मुकायम (का.मु.) प्रधानन्यायाधीश छिन् । परिषद् बैठकमा कामु प्रधानन्यायाधीश सदस्यको रुपमा उपस्थित नहुने संवैधानिक व्यवस्था छ ।

    त्यसैले बैठकमा सहभागी हुनका लागि सभामुख डोल प्रसाद अर्याल, राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहाल, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतम, प्रतिनिधि सभाका विपक्षी दलका नेता भीष्मराज आङ्देम्बे र प्रतिनिधि सभाकी उपसभामुख रुवी कुमारीलाई मात्र आमन्त्रण गरिएको छ ।

    आव्हान भईसकेको संसदलाई अकस्मात स्थगित गरेर अध्यादेश मार्फत परिषदको बैठकको निर्णयलाई बैधानिकता दिलाउने अध्यादेश जारी गराए सँगै सरकारलाई आफू अनुकुलको नियुक्ति दिलाउनमा सहज देखिएको छ । यद्यपि अध्यादेश जारी गराउन पटक पटकको सिफारिस गर्नुपर्दा जनताको भुईँतह सम्मै यस विषयले चर्चा पाएको छ । 

    हाल जारी अध्यादेशमा बैठकमा उपस्थित सदस्यहरूको ५० प्रतिशत अर्थात् ३ जनाको पक्षमा प्रधानमन्त्री उभिएको प्रस्ताव निर्णय हुने व्यवस्था छ । परिषदबाट सिफारिस पश्चात संसदीय सुनुवाइ प्रक्रिया पूरा गरेपछि मात्र राष्ट्रपतिले नियुक्त गर्ने कानुनी व्यवस्था छ । संसदीय सुनुवाई समितिमा रास्वपाका ८, नेपाली कांग्रेसका ३, नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टीका २ -२ सदस्य रहेका छन् । 

    नेपालको संविधानको धारा १२९(३) मा ‘सर्वोच्च अदालतको न्यायाधीश पदमा कम्तीमा तीन वर्ष काम गरेको व्यक्ति प्रधान न्यायाधीशको पदमा नियुक्ति हुन योग्य हुनेछ’ भन्ने संवैधानिक व्यवस्था छ । दुईवटा अपवादलाई आधार मान्ने हो भने सर्वोच्च अदालतको वरिष्ठतम न्यायाधीश नै प्रधानन्यायाधीशमा सिफारिस र नियुक्ति भएको इतिहास छ ।


    भरखरै सम्पन्न निर्वाचन पश्चात दुईतिहाई नजिकको जित सहित सत्ताशिन बनेको राष्ट्रिय स्वतन्त्र पार्टी र प्रधानमन्त्री बालेन साहले परम्परा र नजिरलाई तोड्दै अरु न्यायाधीशलाई प्रधानन्यायाधीश बनाउलान् या वरिष्ठतम कामु प्रधान न्यायाधिश सपना प्रधान मल्ललाई बनाउलान् साँझ सम्म पर्खनु पर्ने भएको छ । 

    गत महिना पद रिक्त हुनुअघि नै न्यायपरिषद्ले प्रधानन्यायाधीशका लागि योग्यता पुगेका न्यायाधीशहरू भन्दै छ जना क्रमशः वरिष्ठतम न्यायाधीश रहेकी कामु प्रधानन्यायाधीश सपना प्रधान मल्ल सहित न्यायाधीशहरू कुमार रेग्मी, हरि फुयाल, डा. मनोजकुमार शर्मा, डा. नहकुल सुवेदी र तिलप्रसाद श्रेष्ठको नाम सिफारिस गरेको थियो । 

    सामाजिक संजालमा सपना प्रधान र तिल प्रसाद श्रेष्ठका नाममा जुहारी देख्न सकिन्छ । शर्मा र सुवेदी पनि उत्तिकै शसक्त दावेदार देखिन्छन् भने रेग्मी र फुँयालको कम चर्चा छ । यद्यपि सपना प्रधाननै प्रधानन्यायाधिश बन्ने ठोकुवा समेत केही जानकारहरुले गरेका छन् । 

    २०८३, बैशाख २४ बिहिवार०९:३०:१५

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार