काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकार बहुमतको दम्भमा संसद्को गरिमा र प्रतिपक्षीको भूमिकालाई कमजोर बनाउन लागेको आरोप लगाएको छ।
मंगलबार बसेको प्रतिनिधि सभाको बैठकमा नेपाली कांग्रेसकी प्रमुख सचेतक बासना थापाले सरकारको पछिल्लो कार्यशैलीले संसद्को गरिमा कमजोर पार्ने प्रयास भइरहेको आरोप लगाएकी हुन्।
उनले संसद् केवल संख्याको खेल नभई विचार, विमर्श, उत्तरदायित्व र सहमतिमा आधारित सर्वोच्च लोकतान्त्रिक संस्था भएको बताइन्। तर, सरकार बहुमतको दम्भमा संसद्को मर्यादा र प्रतिपक्षको भूमिकालाई कमजोर बनाउने दिशातर्फ उन्मुख देखिएको उनको आरोप छ।
उनले प्रतिपक्षको अवरोधबीच पनि बहुमतको दम्भमा विधेयकहरू पारित भएको बताइन्। प्रधानमन्त्री र मन्त्रीहरूको भूमिकाका कारण संसदीय समितिहरूसमेत प्रभावकारी बन्न नसकेको उनको भनाइ छ।
प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम, प्रतिपक्षका माग तथा जनचासोका विषयलाई बेवास्ता गर्दै संसद् सञ्चालन गर्नु संसदीय मर्यादाविपरीत भएको उनले उल्लेख गरिन्। उनले बहुमत सरकार चलाउने आधार भए पनि लोकतन्त्र चलाउने आधार नभएको उल्लेख गरिन्। लोकतन्त्र संवादबाट बलियो, असहमतिप्रतिको सम्मानबाट परिपक्व र सहकार्यबाट सफल हुने उल्लेख गरिन्।
बहुमतलाई सर्वशक्तिमान ठान्ने प्रवृत्तिले संसद्लाई विचारको थलोभन्दा औपचारिक संस्थामा सीमित गर्ने उनको भनाइ छ। अहंकारले कुनै पनि शासन प्रणालीलाई दीर्घकालीन स्थायित्व दिन नसकेको उल्लेख गर्दै उनले जनताको विश्वास प्रतिपक्षलाई दबाएर नभई उसको आवाज सुनेर र साझा राष्ट्रिय एजेण्डामा सहकार्य गरेर मात्रै जित्न सकिने बताइन्।
उनले भनिन्, ‘पछिल्लो समय सरकारको कार्यशैलीले गम्भीर प्रश्न उब्जाएको छ। संसद् केवल संख्याको खेल होइन, यो विचार, विमर्श, उत्तरदायित्व र सहमतिको आधारमा चल्ने सर्वोच्च लोकतान्त्रिक थलो पनि हो। तर, दुर्भाग्यवश सरकार बहुमतको दम्भमा संसद्को गरिमा र प्रतिपक्षीको भूमिकालाई कमजोर बनाउने दिशातर्फ उन्मुख देखिएको छ। प्रतिपक्षको अवरोधबीच विधेयकहरू पास गर्दा किन बहुमतको दम्भ देखाउनु भयो ? प्रधानमन्त्री र मन्त्रीका कारणले संसदीय समितिहरूले प्रभावकारी रुपमा काम गर्न सकेका छैनन्। प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम, प्रतिपक्षीका माग र जनचासोका विषयलाई वेवास्ता गर्दे संसद् सञ्चालन गर्नु संसदीय मर्यादाको अभ्यास होइन।’