कास्की । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट आगामी असोज ७ गते (सेप्टेम्बर २३) देखि दुबईका लागि नियमित अन्तर्राष्ट्रिय उडान सुरु हुने तयारी तीव्र भएपछि पोखराको पर्यटन तथा व्यावसायिक क्षेत्र उत्साहित बनेको छ।
सञ्चालनमा आएको झण्डै तीन वर्षपछि विमानस्थलले पहिलो पटक खाडी मुलुकसँग प्रत्यक्ष हवाई सम्पर्क स्थापित गर्ने चरणमा पुगेको हो।
संयुक्त अरब इमिरेट्सको कम लागतको वायुसेवा कम्पनी फ्लाई दुबईले पोखरा-दुबई नियमित उडानका लागि टिकट बुकिङ सन् २०२७ मार्चसम्म खुला गरिसकेको छ। उडानलाई दिगो र सफल बनाउन कम्पनीको उच्चस्तरीय टोली हाल पोखरामा रहेर गण्डकी प्रदेश सरकार, स्थानीय तह तथा पर्यटन क्षेत्रका सरोकारवालासँग छलफल गरिरहेको छ।
पोखरा पर्यटन परिषद्का पूर्वअध्यक्ष पोमनारायण श्रेष्ठले पोखराबाट अन्तर्राष्ट्रिय उडान सञ्चालन हुनु पर्यटन क्षेत्रका लागि महत्वपूर्ण उपलब्धि भएको बताउँदै उडानको निरन्तरताका लागि सबै पक्षको साझा जिम्मेवारी आवश्यक रहेको उल्लेख गरे।
फ्लाई दुबईको टोलीले यात्रु व्यवस्थापन, आवश्यक सहकार्य तथा उडान सफल बनाउन सकिने सम्भावनाबारे प्रदेश सरकारका प्रतिनिधिसँग समेत छलफल गरेको जनाएको छ।
पर्यटन व्यवसायी गणेशबहादुर थापाका अनुसार अन्तर्राष्ट्रिय उडानले विदेशी पर्यटक आगमन बढाउनुका साथै पोखरा र आसपासका क्षेत्रका उत्पादनलाई अन्तर्राष्ट्रिय बजारसम्म पुर्याउने अवसर सिर्जना गर्नेछ।
त्यस्तै टान गण्डकीका अध्यक्ष कृष्ण आचार्यले उडानलाई दीर्घकालीन बनाउन विदेशी टुर अपरेटर तथा ट्राभल कम्पनीसँग प्रत्यक्ष व्यावसायिक सम्बन्ध विस्तार गर्नुपर्नेमा जोड दिए।
यसैबीच मध्यपूर्वकै अर्को चर्चित वायुसेवा कम्पनी एयर अरेबियाले पनि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान सञ्चालनको सम्भावनाबारे अध्ययन सुरु गरेको जनाइएको छ।
यदि एयर अरेबियाले समेत सेवा विस्तार गरे पोखरा अन्तर्राष्ट्रिय विमानस्थल पश्चिम नेपालकै प्रमुख अन्तर्राष्ट्रिय हवाई प्रवेशद्वारका रूपमा स्थापित हुने अपेक्षा गरिएको छ।