काठमाडौं । कानून संकायको एलएलबी तहको भर्ना प्रक्रियामा पद्मकन्या बहुमुखी क्याम्पसमा गम्भीर अनियमितता र जालसाजी भएको आरोप लागेको छ।
प्रवेश परीक्षा उत्तिर्ण गरेका २ सय ९२ विद्यार्थी मध्ये २ सय ५४ ले मात्र भर्ना गरे पछि बाँकी रहेको ४६ जनाको कोटामा भर्ना गर्दा चरम जालझेल गरिएको हो । यसै शत्रदेखि ३ सय विद्यार्थी भर्ना गर्न अनुमति पाएको यस क्याम्पसमा पहिलो वर्षमै विद्यार्थीको अधिकार माथि चरम धावा बोलिएको छ ।
प्रवेश परीक्षा उत्तिर्ण गरेका विद्यार्थीलाई श्रावण ४ सम्म भर्ना गर्न भनिए पनि पुनः समय थप गरेर श्रावण ८ पुर्याउँदा पनि ४६ जनाको कोटा रिक्त रहेको क्याम्पसले जनाएको थियो । सो कोटामा भर्नाका लागि डिन कार्यालयको निर्देशानुसार श्रावण ८ गते दोस्रो सुची सम्बन्धी सूचना निकाली ११ गते ५ बजे सम्म निवेदन माग गरिएको थियो ।
उक्त समय सम्म आवेदन परेका विद्यार्थीको संख्या हेर्दा ३० जना भन्दा बढीेले निवेदननै नहालेका प्रत्यक्षदर्शी विद्यार्थीले जनाएका छन् । ५ बजे सम्म निवेदन बुझी बेलुका नै नतिजा प्रकाशन गर्ने जानकारी गराएका एलएलबी कार्यक्रम निर्देशक दिलिप मादेनले १२ गते बिहान ११ बजे पश्चात नतिजा सार्वजनिक गरेका थिए ।
तर नतिजा सार्वजनिक भएको केही मिनेटमा नै तुरुन्त हटाई पुनः अर्को सूची सामाजिक संजाल फेसबुकमा अपलोड गरिएको छ । अपलोड गरिएको सूचीमा १२ जना विद्यार्थीको नाम फेरबदल गरिएको विद्यार्थीले जनाएका छन् ।
मापदण्ड पूरा नगरेका विद्यार्थीलाई नातावाद र कृपावादमा परेर पुनः भर्ना गर्ने अवसर दिइएकामा विद्यार्थीले चर्को आक्रोश व्यक्त गरेका छन् । निवेदन दर्ता गर्न आग्रह गर्दा निवेदनको शिरमा दर्ता लेख्ने तर दर्ता नं नराखीकनै विद्यार्थीलाई पठाएकामा पनि निर्देशक मादेन प्रति विद्यार्थीहरुले आक्रोश जनाए ।
यस्तो अनियमित कार्यगर्ने जोसुकैलाई पनि कारवाहीको दायरामा ल्याई वास्तविक सुचीबाटै भर्ना प्रक्रिया मिलाउन पनि डिन कार्यालयलाई विद्यार्थीको आग्रह छ ।
न्याय सेवामा झुकाव राख्ने विद्यार्थी उत्पादन गर्ने अभिलाषा बोकेको एतिहासिक क्याम्पसमै यस्तो भेदभाव र जालसाजपूर्ण कार्य भएकामा सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् ।
यस विषयमा प्रतिक्रिया लिन पद्मकन्या बहुमुखी क्याम्पसका एलएलबी कार्यक्रम निर्देशक दिलिप मादेनसँग सम्पर्क गर्ने प्रयास भए पनि समाचार तयार पार्दासम्म प्रतिक्रिया प्राप्त हुन सकेन। प्रतिक्रिया प्राप्त भएमा समावेश गरिनेछ।