अविरल वर्षाले देशभरका सडक प्रभावित, विभिन्न राजमार्ग अवरुद्ध

अविरल वर्षाले देशभरका सडक प्रभावित, विभिन्न राजमार्ग अवरुद्ध

२०८३, श्रावण २५ सोमवार

  • 369
    SHARES

  • अविरल वर्षाले देशभरका सडक प्रभावित, विभिन्न राजमार्ग अवरुद्ध

    काठमाडौं । अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा पहिरो तथा बाढीले सडक अवरुद्ध हुँदा यातायात सेवा प्रभावित भएको छ।

    काभ्रे, सिन्धुपाल्चोक, इलाम, रसुवा, रुकुम पश्चिम र लमजुङलगायत जिल्लाका विभिन्न सडकखण्डमा पहिरो तथा नदी कटानका कारण यातायात प्रभावित भएको प्रहरीले जनाएको छ।

    प्रहरी प्रधान कार्यालयले आज बिहान ६ बजेसम्मको विवरण सार्वजनिक गर्दै देशका विभिन्न स्थानमा सडक अवरुद्ध भएको जनाएको हो। केही सडकखण्डमा यातायात पूर्ण रूपमा रोकिएको छ भने केही स्थानमा जोखिमलाई ध्यानमा राख्दै निश्चित समयका लागि सवारी आवागमनमा रोक लगाइएको छ।

    काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका-९ पिन्थली, नार्केमा आज बिहान करिब ४ बजे वर्षाका कारण माथिबाट लेदोसहितको पहिरो खस्दा बीपी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ।

    यस्तै, खुर्कोट-नेपालथोक-कटुन्जेबेँसी-सिन्धुली सडकखण्डमा सम्भावित बाढीको जोखिमलाई ध्यानमा राख्दै साँझ ६ बजेदेखि बिहान ४ बजेसम्म सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ। बिहान ४ बजेदेखि साँझ ६ बजेसम्म भने सवारीसाधन सञ्चालन गर्न दिइने व्यवस्था गरिएको छ।

    मकवानपुरको कान्ति लोकपथमा पनि वर्षाका कारण रातिको समयमा सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ। उक्त सडकखण्डमा साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म यातायात सञ्चालन गर्न रोक लगाइएको प्रहरीले जनाएको छ।

    इलाम नगरपालिका-९ राजदुवालीमा सडकमा हिलो जम्दा मेची राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ। प्रहरीले उक्त सडकखण्डमा यात्रा गर्ने यात्रुलाई सम्भव भएसम्म वैकल्पिक सडक प्रयोग गर्न आग्रह गरेको छ।

    सिन्धुपाल्चोकमा पनि पहिरो तथा सडक भासिँदा यातायात प्रभावित भएको छ। अरनिको राजमार्गअन्तर्गत भोटेकोशी गाउँपालिका-४ जिरोकिलोमा पहिरो खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएको छ।

    भोटेकोशी गाउँपालिका-२ कोदारीस्थित इकुमा पहिरोका कारण यातायात सेवा प्रभावित भएको छ भने सोही गाउँपालिका-२ लिपिङमा सडक भासिएपछि अरनिको राजमार्ग अवरुद्ध भएको प्रहरीले जनाएकोछ।

    यस्तै, चौतारा साँगाचोकगढी नगरपालिका-९ डुम्रेमा आज बिहान करिब ५ बजे पहिरो खस्दा अरनिको राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ।

    रसुवाको उत्तरगया गाउँपालिका-५ खाल्टेमा त्रिशूली नदीले सडक कटान गरेपछि त्रिशूली-मैलुङ-स्याफ्रुबेंसी कच्ची सडक पूर्ण रूपमा अवरुद्ध भएको छ।

    रुकुम पश्चिमको आठबिसकोट नगरपालिका-६ स्थित रिजेगार्ड खोला नजिक भेरी करिडोरअन्तर्गत जाजरकोट-डोल्पा सडकखण्ड पहिरोका कारण अवरुद्ध भएको छ।

    यस्तै, लमजुङको मध्यनेपाल नगरपालिका-१० बिमिरेभन्ज्याङ आसपास मध्यपहाडी लोकमार्गमा गएराति पहिरो खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ। उक्त स्थानमा यात्रा गर्ने यात्रुलाई वैकल्पिक सडक प्रयोग गर्न प्रहरीले आग्रह गरेको छ।

    प्रहरी प्रधान कार्यालयका अनुसार अवरुद्ध सडकखण्ड खुलाउन तथा यातायात सञ्चालनमा ल्याउन सम्बन्धित निकाय र सुरक्षा टोलीले आवश्यक पहल गरिरहेका छन्।

    लगातार वर्षा भइरहेकाले थप पहिरो तथा बाढीको जोखिम रहन सक्ने भन्दै प्रहरीले यात्रु तथा सवारी चालकलाई आवश्यक सावधानी अपनाउन आग्रह गरेको छ।

    विशेषगरी पहिरोको जोखिम भएका सडकखण्डमा अनावश्यक यात्रा नगर्न र सडकको पछिल्लो अवस्थाबारे जानकारी लिएर मात्र यात्रा गर्न प्रहरीले अनुरोध गरेको छ।

    २०८३, श्रावण २५ सोमवार११:५५:४७

    स्याटेलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार