नेपाल लाइफमा अभिकर्ता विवाद चर्कियो, राष्ट्रिय सम्मान कार्यक्रमलाई लिएर दुई पक्ष आमनेसामने

नेपाल लाइफमा अभिकर्ता विवाद चर्कियो, राष्ट्रिय सम्मान कार्यक्रमलाई लिएर दुई पक्ष आमनेसामने

२०८३, भाद्र ४ बिहिवार

  • 325
    SHARES

  • नेपाल लाइफमा अभिकर्ता विवाद चर्कियो, राष्ट्रिय सम्मान कार्यक्रमलाई लिएर दुई पक्ष आमनेसामने

    काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका अभिकर्ताबीचको संगठनात्मक विवाद थप चर्किएको छ।

    कम्पनीले आयोजना गरेको राष्ट्रिय सम्मान कार्यक्रमलाई लिएर पेशागत बीमा अभिकर्ता संघ नेपाल र नवगठित नेपाल राष्ट्रिय बीमा अभिकर्ता संघबीच विवाद सतहमा आएको हो।

    पेशागत बीमा अभिकर्ता संघ नेपाल, बीमक समिति नेपाल लाइफले कम्पनीमा कार्यरत केही अभिकर्ता तथा अन्य व्यक्तिहरूको गतिविधिप्रति आपत्ति जनाउँदै ध्यानाकर्षण पत्र जारी गरेपछि विवाद सार्वजनिक भएको हो।

    संघका अनुसार २०८३ भदौ ३ गते काठमाडौंस्थित होटल याक एन्ड यतिमा नेपाल लाइफका देशभरका उत्कृष्ट अभिकर्तालाई सम्मान गर्न आयोजित राष्ट्रिय सम्मान कार्यक्रममा केही गैरअभिकर्ताको सहभागिता तथा संघको नाममा उठाइएको आर्थिक हिसाबमा अनियमितता भएको आरोप लगाइएको छ।

    a4.jpg

    ध्यानाकर्षण पत्रमा संघका कागजात तथा विवरणको बरबुझारथ नगरी अर्को संगठन गैरकानुनी रूपमा दर्ता गर्ने प्रयास गरिएको दाबीसमेत गरिएको छ। यस्ता गतिविधिले राष्ट्रिय सम्मान कार्यक्रममा सम्मानित भएका अभिकर्ताको प्रतिष्ठा र मनोबलमा असर पार्ने उद्देश्य देखिएको संघको आरोप छ।

    संघले कम्पनीमा कार्यरत केही अभिकर्तालाई बाहिर बोलाएर हुलहुज्जत गर्ने, कम्पनीलाई बदनाम गर्ने तथा राष्ट्रिय सम्मान कार्यक्रमसँग प्रत्यक्ष सम्बन्ध नरहेका विषयलाई जोडेर भ्रमपूर्ण प्रचार गर्ने प्रयास भएको दाबी गरेको छ।

    त्यस्तै, केही सञ्चारकर्मीलाई प्रयोग गरी नेपाल लाइफको व्यवसाय वृद्धि रोक्ने उद्देश्यले भ्रामक प्रचार गरिएको आरोपसमेत संघले लगाएको छ। यस्ता गतिविधिले कम्पनी, अभिकर्ता तथा सम्मान कार्यक्रममा सहभागी भएका उत्कृष्ट अभिकर्ताको मनोबलमा नकारात्मक असर पार्ने संघको भनाइ छ।

    a3.webp

    बीमा अभिकर्ताको हकहितका लागि पेशागत बीमा अभिकर्ता संघले लामो समयदेखि काम गर्दै आए पनि अभिकर्ताको हित संरक्षण गर्न नसकेको भन्दै केही अभिकर्ताले नेपाल राष्ट्रिय बीमा अभिकर्ता संघ गठन गरेको बताएका छन्।

    यही संगठनात्मक विवादका कारण नेपाल लाइफ इन्स्योरेन्सको केन्द्रीय समितिसमेत विवादमा तानिएको हो। नयाँ संघलाई नेपाल लाइफको व्यवस्थापनले सहयोग नगरेको र जबर्जस्ती आफ्नो प्रभाव विस्तार गर्न खोजिएको आरोप पेशागत बीमा अभिकर्ता संघले लगाएको छ।

    तर, नयाँ संघले भने आफूहरू कानुनी प्रक्रियाअनुसार गठन भएको दाबी गरेको छ।

    नेपाल राष्ट्रिय बीमा अभिकर्ता संघले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै आफूहरू ट्रेड युनियन ऐन, २०४९ को पहिलो संशोधन २०५५ को दफा ४ को उपदफा (१) बमोजिम गठन तथा दर्ता भएको जनाएको छ।

    संघका अनुसार ५ हजार ६२३ जना सदस्यको हस्ताक्षरसहित संघ दर्ता गरिएको र यसको दर्ता नम्बर ५९३ रहेको छ।

    संघले अभिकर्ताको पेशागत सुरक्षा, हकहित, सामाजिक सुरक्षा तथा व्यवसायिक अधिकारका विषयलाई प्राथमिकतामा राखेर अघि बढ्ने जनाएको छ।

    नेपालमा हाल १४ वटा जीवन बीमा, १४ वटा निर्जीवन बीमा र ७ वटा लघुबीमा कम्पनी सञ्चालनमारहेको बताइएको छ। देशभर ठूलो संख्यामा बीमा अभिकर्ता कार्यरत छन्।

    अभिकर्ताले बीमा कम्पनीका विभिन्न पोलिसी तथा उत्पादनबारे सर्वसाधारणलाई जानकारी गराउँदै बीमा व्यवसाय विस्तारमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका छन्। बीमाको पहुँच विस्तार तथा सर्वसाधारणलाई वित्तीय सुरक्षाको दायरामा ल्याउन अभिकर्ताको भूमिका महत्वपूर्ण मानिन्छ।

    पेशागत बीमा अभिकर्ता संघले ध्यानाकर्षण पत्रमार्फत भ्रमपूर्ण प्रचार तथा गतिविधि रोक्न आग्रह गर्दै गलत प्रवृत्तिविरुद्ध कानुनी कारबाही अघि बढाउन नेपाल लाइफ व्यवस्थापन तथा सम्बन्धित निकायसँग माग गरेको छ।

    साथै, संघले सञ्चारमाध्यमलाई पत्रकारिताको न्यूनतम मापदण्ड पालना गरी सम्बन्धित सबै पक्षको धारणा लिएर मात्र समाचार प्रकाशन गर्न आग्रह गरेको छ।

    यसैबीच, ध्यानाकर्षण पत्रमा उल्लेख भएका अनियमितता, हिनामिना, गैरकानुनी गतिविधि तथा भ्रमपूर्ण प्रचारसम्बन्धी आरोपहरू सम्बन्धित पक्षका दाबी मात्र हुन्। ती आरोपबारे नेपाल लाइफ इन्स्योरेन्स कम्पनी तथा आरोप लगाइएका पक्षको आधिकारिक प्रतिक्रिया सार्वजनिक हुन बाँकी छ।

    विवाद बढ्दै गएपछि यसले बीमा अभिकर्ताको संगठनात्मक एकता, पेशागत हकहित र कम्पनीसँगको सम्बन्धमा कस्तो प्रभाव पार्छ भन्ने विषयमा समेत चासो बढेको छ।

    xxx.jpg

    २०८३, भाद्र ४ बिहिवार१२:४३:४४

    स्याटेलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार