भारतीय तरकारी आयातमा कडाइपछि बाँकेका किसानलाई राहत, स्थानीय उत्पादनले पायो राम्रो बजार

भारतीय तरकारी आयातमा कडाइपछि बाँकेका किसानलाई राहत, स्थानीय उत्पादनले पायो राम्रो बजार

२०८३, भाद्र ४ बिहिवार

  • 309
    SHARES

  • भारतीय तरकारी आयातमा कडाइपछि बाँकेका किसानलाई राहत, स्थानीय उत्पादनले पायो राम्रो बजार

    राँझा । भारतबाट आयात हुने सागसब्जीमा भन्सार कडाइ गरिएपछि बाँकेका किसानले उत्पादन गरेको तरकारीले बजार पाउन थालेको छ। स्थानीय उत्पादनले राम्रो मूल्य पाउन थालेपछि विगतमा निर्वाहमुखी खेती गर्दै आएका किसानसमेत व्यावसायिक सागसब्जी खेतीतर्फ आकर्षित हुन थालेका छन्।

    कृषि ज्ञान केन्द्र बाँकेका निमित्त प्रमुख वरिष्ठ कृषि प्रसार अधिकृत सुजिता शर्माका अनुसार जिल्लामा अहिले ६ हजार ३५२ हेक्टर जमिनमा सागसब्जी खेती हुँदै आएको छ। जिल्लामा वार्षिक ठूलो परिमाणमा तरकारी उत्पादन हुने गरेको उनले जानकारी दिए।

    कृषि ज्ञान केन्द्रले महिला तथा बालबालिकाको पोषण सुधार कार्यक्रमअन्तर्गत १ हजार ३५० किसानलाई लौका, फर्सी, करेला लगायतका हिउँदे सागसब्जीका बीउ वितरण गरेको छ।

    भारतबाट आउने सस्तो तरकारीसँग प्रतिस्पर्धा गर्न कठिनाइ भोग्दै आएका स्थानीय किसानले पछिल्लो समय आफ्नो उत्पादनको राम्रो मूल्य पाउन थालेका छन्।

    नेपालगञ्जस्थित रानीतलाउ कृषि उपज बजार सञ्चालक समितिकी अध्यक्ष मोतिसरा थापा क्षेत्रीका अनुसार भारतबाट बिक्रीका लागि ल्याइने कृषि उपजमा भन्सार तिर्नुपर्ने भएपछि आयातित तरकारीको लागत बढेको छ। त्यसका कारण व्यवसायीले भारतीय तरकारीको आयात घटाउँदा स्थानीय उत्पादनले बजार पाएको उनले बताए।

    अहिले नेपालगञ्जको बजारमा बाँकेमै उत्पादित फूलगोभी, बन्दागोभी, लौका, फर्सी, काँक्रा, बोडी, गोलभेँडा, खुर्सानी लगायतका कृषि उपजको आपूर्ति भइरहेको छ।

    खेतबारीबाटै बिक्री, किसान उत्साहितनेपालगञ्ज-१९ का अगुवा किसान गोपी यादवका अनुसार विगतमा तरकारी बिक्रीका लागि टाढाटाढा पुग्नुपर्ने अवस्था थियो। अहिले भने खेतबारीबाटै उत्पादन बिक्री हुन थालेपछि गाउँमा व्यावसायिक तरकारी खेती गर्ने किसानको संख्या बढ्दै गएको छ।

    उनका अनुसार पहिले सागसब्जी बिक्री गर्न टाढाटाढा पुग्नुपर्थ्यो, अहिले खेतबारीबाटै राम्रो मूल्यमा बिक्री हुन थालेपछि गाउँमा सागसब्जी खेती गर्ने किसान बढ्दै गएका छन्।

    विगतमा मण्डीसम्म पुर्‍याउँदा समेत कम मूल्यमा बिक्री गर्नुपर्ने अवस्था थियो। अहिले भने व्यापारीले बारीबाटै तरकारी खरिद गर्न थालेपछि किसानलाई उत्पादनको उचित मूल्य पाउन सहज भएको छ।

    बाँकेको डुडुवा गाउँपालिका-६ हिरमिनिया तथा नेपालगञ्ज उपमहानगरपालिकाका १४ नम्बरवडाको भवानीयापुर, १७ नम्बर वडाको परसपुर, १९ नम्बर वडाको बसुदेवपुर, २१ नम्बर वडाको पुरैना र २२ नम्बर वडाको पुरैना लगायतका क्षेत्रमा व्यावसायिक तरकारी खेती हुँदै आएको छ।

    तरकारी खेतीबाट राम्रो आम्दानी हुन थालेपछि किसानहरू नगदे बालीका रूपमा सागसब्जी खेती विस्तार गर्न उत्साहित भएका छन्। स्थानीय उत्पादनले निरन्तर बजार र उचित मूल्य पाउन सके बाँकेमा व्यावसायिक कृषि विस्तारसँगै किसानको आम्दानी बढाउनसमेत सहयोग पुग्ने देखिएको छ।

    २०८३, भाद्र ४ बिहिवार०१:११:२६

    स्याटेलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार