रास्वपाको केन्द्रीय समिति बैठक सुरु, उम्मेदवार छनोटदेखि ‘राइट टु रिकल’सम्म छलफल

रास्वपाको केन्द्रीय समिति बैठक सुरु, उम्मेदवार छनोटदेखि ‘राइट टु रिकल’सम्म छलफल

२०८३, भाद्र ५ शुक्रवार

  • 321
    SHARES

  • रास्वपाको केन्द्रीय समिति बैठक सुरु, उम्मेदवार छनोटदेखि ‘राइट टु रिकल’सम्म छलफल

    काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक आज काठमाडौँमा सुरु भएको छ। पार्टी सभापति रवि लामिछानेको निर्देशनअनुसार वनस्थलीस्थित केन्द्रीय कार्यालय ‘घन्टी घर’मा बैठक बसेको हो।

    बैठकमा केन्द्रीय समितिका सदस्य, पदाधिकारी, सचिवालय सदस्य तथा विभागीय प्रमुखको मनोनयनसम्बन्धी प्रस्ताव प्रस्तुत हुने महामन्त्री विपिनकुमार आचार्यले जानकारी दिए।

    बैठकको कार्यसूचीमा आगामी स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोटको रूपरेखा तयार गर्ने तथा त्यसलाई अनुमोदन गर्ने विषय प्रमुख रूपमा समावेश गरिएको छ। स्थानीय तह निर्वाचनका लागि केन्द्रीय उम्मेदवार छनोट समिति सदस्य मनोनयन गर्ने विषयमा समेत छलफल हुने बताइएको छ।

    त्यसैगरी, जनप्रतिनिधिलाई जनताप्रति थप उत्तरदायी बनाउने उद्देश्यले प्रस्तावित ‘राइट टु रिकल’ सम्बन्धी दस्ताबेज निर्माण गर्ने विषयमा पनि बैठकमा छलफल हुने छ।

    बैठकमा केन्द्रीय समिति तथा प्रतिनिधिसभा सदस्यको नेतृत्वमा स्थानीय तहमा ‘उम्मेदवार छनोट रूपरेखा’ सम्बन्धी अभिमुखीकरण तथा प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने प्रस्तावसमेत प्रस्तुत हुने जनाइएको छ।

    रास्वपाले पार्टीको मुखपत्रका रूपमा ‘स्वतन्त्र’ नामक मासिक डिजिटल पत्रिका प्रकाशन गर्ने प्रस्तावपनि बैठकमा प्रस्तुत गर्ने तयारी गरेको छ।

    केन्द्रीय समिति बैठकले पार्टीको आगामी सांगठनिक गतिविधि, स्थानीय निर्वाचनको तयारी तथा उम्मेदवार छनोट प्रक्रियालाई थप व्यवस्थित बनाउने विषयमा महत्वपूर्ण निर्णय गर्ने अपेक्षा गरिएको छ।

    २०८३, भाद्र ५ शुक्रवार०१:२३:५१

    स्याटेलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार