स्क्रब टाइफसको संक्रमण बढ्दो, तीन जनाको मृत्यु

स्क्रब टाइफसको संक्रमण बढ्दो, तीन जनाको मृत्यु

२०८३, भाद्र ९ मंगलवार

  • 421
    SHARES

  • स्क्रब टाइफसको संक्रमण बढ्दो, तीन जनाको मृत्यु

    सल्यान । सल्यानमा स्क्रब टाइफस संक्रमणबाट तीन जनाको मृत्यु भएको छ । दार्मा गाउँपालिकामा मात्रै यस वर्ष करिब ३० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य शाखाले जनाएको छ ।

    दार्मा गाउँपालिका-५ का एक तथा वडा नं. ६ का दुई पुरुषको स्क्रब टाइफस संक्रमणका कारण मृत्यु भएको हो । लामो समयदेखि दीर्घरोगबाट प्रभावित उनीहरूमा परीक्षण गर्दा स्क्रब टाइफस संक्रमण पुष्टि भएको र उपचारका क्रममा दाङ तथा नेपालगन्जमा मृत्यु भएको दार्मा गाउँपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।

    स्वास्थ्य शाखा प्रमुख यज्ञबहादुर बस्नेतका अनुसार यस वर्ष गाउँपालिकाभित्र मात्रै करिब ३० जनामा स्क्रब टाइफस संक्रमण पुष्टि भएको छ । ज्वरोका बिरामीको संख्या बढेपछि परीक्षण गर्दा संक्रमण देखिएको उनले बताए ।

    संक्रमण बढ्दै गए पनि दार्मा गाउँपालिकाका विभिन्न स्वास्थ्य संस्थामा स्क्रब टाइफस परीक्षण गर्ने किटको अभाव भएको छ । सरकारी स्वास्थ्य संस्थामा निःशुल्क परीक्षणको व्यवस्था भए पनि किट अभावका कारण बिरामी निजी क्लिनिकमा परीक्षण गराउन बाध्य भएका छन् ।

    स्थानीयका अनुसार परीक्षण किटको अभाव भएपछि दार्माका नागरिक स्क्रबटाइफस परीक्षणका लागि रुकुमको झुल्नेटा, फारुला तथा सल्यानकै बागचौरसम्म पुग्नुपर्ने अवस्था छ ।

    यता, स्वास्थ्य सेवा कार्यालय सल्यानका अनुसार साउन महिनामा मात्रै जिल्लामा ४१ जनाको स्क्रब टाइफस परीक्षण गरिएको थियो । तीमध्ये तीन पुरुष र दुई महिलासहित पाँच जनामा संक्रमण पुष्टि भएको कार्यालयका प्रतीक भट्टले जानकारी दिए ।

    स्वास्थ्यकर्मीहरूले ज्वरो आउने, टाउको दुख्ने, शरीर दुख्ने तथा अन्य लक्षण देखिएमा समयमै स्वास्थ्य संस्थामा पुगेर परीक्षण तथा उपचार गराउन आग्रह गरेका छन् ।

    २०८३, भाद्र ९ मंगलवार०२:०९:१६

    स्याटेलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार