भोटेकोशी बाढीको जोखिमपछि तीन प्रमुख सडकखण्डमा यात्रा नगर्न आग्रह

भोटेकोशी बाढीको जोखिमपछि तीन प्रमुख सडकखण्डमा यात्रा नगर्न आग्रह

२०८३, भाद्र १० बुधवार

  • 397
    SHARES

  • भोटेकोशी बाढीको जोखिमपछि तीन प्रमुख सडकखण्डमा यात्रा नगर्न आग्रह

    काठमाडौँ । तिब्बततर्फबाट भोटेकोशी नदीमा ठूलो बाढी प्रवेश गरेपछि सम्भावित जोखिमलाई मध्यनजर गर्दै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तीन प्रमुख सडकखण्डमा तत्काल यात्रा नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ।

    प्राधिकरणका प्रवक्ता शान्ति महतका अनुसार पृथ्वी राजमार्ग, गल्छी-नुवाकोट-रसुवा-स्याफ्रुबेँसी सडकखण्ड तथा मुग्लिन-नारायणगढ सडकखण्डमा तत्काल यात्रा नगर्न र नगराउन आग्रह गरिएको हो।

    बाढीका कारण नदीको बहाव तीव्र रूपमा बढ्न सक्ने तथा सडक क्षेत्रमा पहिरो, सडक कटान र डुबानको जोखिम बढ्ने सम्भावना रहेकाले उच्च सतर्कता अपनाउन प्राधिकरणले अनुरोध गरेको छ।

    प्राधिकरणले सम्बन्धित स्थानीय तह तथा जिल्ला प्रशासनलाई जोखिमयुक्त सडकखण्डमा आवागमन रोक्न आवश्यक व्यवस्था मिलाउन समेत आग्रह गरेको छ। जोखिमयुक्त क्षेत्रमा सवारीसाधन तथा यात्रुको आवतजावत नियन्त्रण गर्न सुरक्षा निकाय र स्थानीय प्रशासनबीच आवश्यक समन्वय गर्न भनिएको छ।

    त्रिशूली र नारायणी तटीय क्षेत्रमा पनि उच्च सतर्कता

    भोटेकोशीमा आएको बाढीको प्रभाव त्रिशूली तथा नारायणी नदीको तटीय क्षेत्रमा समेत पर्न सक्ने भएकाले नदी आसपासका बासिन्दालाई उच्च सतर्कता अपनाउन प्राधिकरणले आग्रह गरेको छ।

    प्राधिकरणले अनावश्यक यात्रा नगर्न, नदी तथा खोलाको किनारमा नजान र स्थानीय प्रशासन तथा सुरक्षा निकायबाट जारी हुने आधिकारिक सूचना पालना गर्न सर्वसाधारणलाई अनुरोध गरेको छ।

    बाढी र पहिरोका कारण सडक अवरुद्ध हुन सक्ने तथा यात्रु र सवारीसाधन जोखिममा पर्न सक्ने भएकाले अत्यावश्यक कामबाहेक उल्लिखित सडकखण्डमा यात्रा नगर्न प्राधिकरणले आग्रह गरेको छ।त्यस्तै, जोखिमयुक्त स्थानमा सवारीसाधन नरोक्न र विपद्को अवस्था सिर्जना भएमा खोज, उद्धार तथा राहत कार्यमा सम्बन्धित निकायसँग समन्वय गर्न समेत अनुरोध गरिएको छ।

    भोटेकोशीमा आएको बाढीको अवस्थालाई मध्यनजर गर्दै नदी तटीय तथा सडक आसपासका क्षेत्रमा सुरक्षा सतर्कता बढाइएको छ।

    २०८३, भाद्र १० बुधवार०१:२१:०९

    स्याटेलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार