काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण हालसम्म १७७ जनाको मृत्यु भएको छ ।
नेपाल प्रहरीले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार मृतकमध्ये ४१ महिला, ६९ पुरुष, १० बालिका र ७ बालक रहेका छन् । थप ५० जनाको पहिचान खुल्न सकेको छैन ।
प्रहरीका अनुसार बाढीपछि विभिन्न जिल्लामा नदीले बगाएर ल्याएका शव फेला पर्ने क्रम जारी छ । अहिलेसम्म रसुवा, नुवाकोट, धादिङ, गोरखा, चितवन, तनहुँ र नवलपरासी पूर्वमा शव फेला परेका छन् ।
कुन जिल्लामा कति शव भेटिए ?
रसुवा : २ पुरुषको शव फेला परेको छ ।
नुवाकोट : ४ महिला, ६ पुरुष र २ जना पहिचान नखुलेका व्यक्तिको शव फेला परेको प्रहरीले जनाएको छ ।
धादिङ : ९ महिला, ११ पुरुष, १ बालिका र ६ जना पहिचान नखुलेका व्यक्तिको शव भेटिएको छ ।
गोरखा : २ महिला, १० पुरुष, १ बालक र ७ जना पहिचान नखुलेका व्यक्तिको शव फेला परेको छ ।
चितवन : सबैभन्दा बढी १५ महिला, १९ पुरुष, २ बालिका, ४ बालक र २९ जना पहिचान नखुलेका व्यक्तिको शव भेटिएको छ ।
तनहुँ : १ महिला, ६ पुरुष, १ बालिका र १ बालकको शव फेला परेको छ ।
नवलपरासी पूर्व : ६ महिला, १५ पुरुष, ४ बालिका, १ बालक र ६ जना पहिचान नखुलेका व्यक्तिको शव फेला परेको प्रहरीले जनाएको छ ।
बाढीका कारण ठूलो जनधनको क्षति भएपछि सुरक्षाकर्मीले प्रभावित क्षेत्रमा खोज तथा उद्धार अभियानलाई निरन्तरता दिएका छन् । नदीले बगाएर विभिन्न जिल्लासम्म पुर्याएका शवहरू फेला परिरहेका कारण मृतकको संख्या अझ बढ्न सक्ने देखिएको छ ।
प्रहरीले पहिचान नखुलेका शवको विवरण संकलन तथा आवश्यक प्रक्रिया अघि बढाइरहेको जनाएको छ । विपद्पछि हराइरहेका व्यक्तिका परिवारजनले सम्भावित शव तथा घटनास्थलको विवरणका आधारमा खोजी तथा पहिचानका लागि सम्बन्धित सुरक्षा निकायसँग समन्वय गरिरहेका छन् ।
भोटेकोशी बाढीपछि फैलिएको मानवीय क्षतिको यो विवरणले विपद् व्यवस्थापन, पूर्वसूचना प्रणाली तथा नदी किनारका बस्तीको सुरक्षा व्यवस्थामाथि समेत गम्भीर प्रश्न उठाएको छ ।