भोटेकोशी बाढीपछि तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

भोटेकोशी बाढीपछि तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

२०८३, भाद्र ११ बिहिवार

  • 685
    SHARES

  • भोटेकोशी बाढीपछि तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

    काठमाडौँ । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि सम्भावित डुबान तथा नदी तटीय क्षेत्रमा अझै जोखिम कायम रहेकाले सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ ।

    जल विज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रले भोटेकोशी बाढी प्रभावित क्षेत्रका नदी किनार, तल्लो भूभाग तथा सम्भावित डुबान क्षेत्रमा रहेका नागरिकलाई अर्को सूचना जारी नभएसम्म सुरक्षित तथा अग्लो स्थानमा रहन आग्रह गरेको हो ।

    केन्द्रका प्रवक्ता डा. राजन भट्टराईले नदी आसपास अनावश्यक आवतजावत नगर्न तथा सम्बन्धित निकायबाट जारी हुने सूचना र निर्देशनको पूर्ण रूपमा पालना गर्न सर्वसाधारणलाई आग्रह गरेका छन् ।उनका अनुसार बाढीको वास्तविक कारणबारे थप स्पष्ट हुन प्रभावित क्षेत्रमा रहेका हिमताल, हिमनदी तथा समग्र हिमक्षेत्रको सूक्ष्म अध्ययन भइरहेको छ ।

    “घटनाको कारणबारे थप स्पष्ट हुन सो क्षेत्रमा रहेका हिमताल, हिमनदी तथा समग्र हिम क्षेत्रको सूक्ष्म अध्ययन भइरहेको छ,” डा. भट्टराईले भने, “नदी आसपास अनावश्यक आवतजावत नगर्न तथा महाशाखाबाट जारी हुने सूचना र निर्देशन पालना गर्न अनुरोध गर्दछु ।”

    हिम–चट्टान पहिरोपछि ल्हेन्दे खोलामा आकस्मिक बाढी

    प्रारम्भिक अध्ययनअनुसार बुधबार बिहान ८ः४० बजे नेपाल–चीन सीमा क्षेत्रको रसुवागढी नाकाबाट करिब २० किलोमिटर उत्तरपूर्वमा हिम–चट्टान पहिरो गएको थियो । सोही घटनाका कारण ल्हेन्दे खोलामा गेग्रानसहितको ठूलो बाढी आएको प्रारम्भिक अध्ययनबाट देखिएको केन्द्रले जनाएको छ ।

    तिब्बततर्फबाट भोटेकोशी नदी हुँदै आएको बाढी रसुवागढी, टिमुरे र स्याफ्रुबेँसी हुँदै त्रिशूली नदीमा प्रवेश गरेको थियो ।

    बाढी त्रिशूली नदीमा प्रवेश गरेपछि यसको प्रभाव रसुवासहित नुवाकोट, धादिङ, गोरखा र चितवन जिल्लाका त्रिशूली नदी तटीय क्षेत्रमा समेत परेको छ ।

    तटीय क्षेत्रमा जोखिम कायमै

    सम्बन्धित निकायका अनुसार बाढीका कारण नदी तटीय क्षेत्रका विभिन्न स्थानमा ठूलो जनधनको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ । बाढीको कारण र सम्भावित थप जोखिमबारे अध्ययन जारी रहेकाले नदी आसपासका बासिन्दालाई थप सतर्क रहन आग्रह गरिएको हो ।

    सम्बन्धित निकायले विशेषगरी नदी किनार, तल्लो भूभाग र सम्भावित डुबान क्षेत्रका नागरिकलाई सुरक्षित स्थानमा रहन, नदीको बहाव हेर्न वा घटनास्थलतर्फ अनावश्यक रूपमा नजान तथा आधिकारिक सूचना मात्र विश्वास गर्न आग्रह गरेको छ ।

    भोटेकोशी हुँदै त्रिशूली नदीसम्मको तटीय क्षेत्रमा अझै जोखिमको सम्भावना रहेकाले पूर्वसूचना र सुरक्षा निर्देशनलाई बेवास्ता नगर्न सम्बन्धित निकायले सर्वसाधारणलाई सचेत गराएको छ ।

    २०८३, भाद्र ११ बिहिवार०३:२२:२९

    स्याटेलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार