काँग्रेस महाधिवेशनः सोमवार दिउँसो २ बजेदेखि उम्मेदवारी दर्ता

काँग्रेस महाधिवेशनः सोमवार दिउँसो २ बजेदेखि उम्मेदवारी दर्ता

२०८३, आश्विन १७ शनिवार

  • 293
    SHARES

  • काँग्रेस महाधिवेशनः सोमवार दिउँसो २ बजेदेखि उम्मेदवारी दर्ता

    काठमाडौँ । नेपाली काँग्रेसको १५ औँ महाधिवेशनमा सोमवार दिउँसो २ बजेदेखि साँझ ६ बजेसम्म उम्मेदवारी मनोनयन दर्ता हुने भएको छ । 

    शनिवार काँग्रेसको महाधिवेशन स्थल खुल्ला मञ्चमा आयोजित पत्रकार सम्मेलनमा नेपाली काँग्रेसका प्रवक्ता देवराज चालिसेले उक्त जानकारी दिएका हुन् । उम्मेदवारी दर्तापछि निर्वाचन आयोगले मतदानको समय निर्धारण गर्ने उनले बताए । उनले उम्मेदवारी दर्ता अगाडी विधान संशोधन गर्ने प्रस्ताव बन्द सत्रमा लैजाने र नयाँ विधानअनुसार उम्मेदवारी दर्ता हुने जानकारी दिए । उम्मेदवारी मनोनयनअघि नै काँग्रेसको विधान संशोधन प्रक्रिया टुङ्ग्याइने उनको भनाई छ ।

    काँग्रेसले विधान संशोधन गरी केही पदाधिकारी थप गर्ने तयारी गरेको छ । विधानले पार्टीका विभिन्न पदको संख्या तथा संरचनामा परिवर्तन गर्न सक्ने भएकाले उपसभापति, महामन्त्रीलगायत पदाधिकारीको संख्या महाधिवेशनबाट पारित हुने व्यवस्थाअनुसार निर्धारण हुने उनको भनाइ छ ।

    उनले भने, ‘सोमवार २ बजेदेखि ६ बजेसम्म हामीले उम्मेदवारीको मनोनयन गर्ने समय तालिका मिलाएका छौँ र यो सकिसकेपछि मतदानको कार्यक्रम त्यसपछि हुने निर्वाचन आयोगले निर्धारण गर्नेछ । उम्मेदवारीको नामाङ्कन गर्ने समय भन्दा हामीले विधानको संशोधन गरिसक्छौँ । विधानले केही पदहरू परिवर्तन गर्ने, केही थप्ने, केही घटाउने कहाँ–कहाँ के–के सुधार गर्ने सर्वाधिकार हलले राख्छ । प्रस्ताव गर्ने केन्द्रीय समितिको अधिकार हो, प्रस्ताव केन्द्रीय समितिले राख्छ । त्यसको लागि महामन्त्रीजीको संयोजकत्वमा विधान संशोधन समिति गठन भएको छ । त्यो संशोधन समितिले पेस गरेको प्रस्तावमा केन्द्रीय समितिले छलफल गर्छ र त्यो अन्तिम रूप दिइसकेपछि हलमा हामीले त्यसलाई निर्णयार्थ प्रस्तुत गर्छौँ । टुंगिएको जुन संख्या हुन्छ, पदाधिकारीको संख्या । त्यसैको आधारमा मनोनयन दाखिल हुन्छ ।’

    चालिसेकाअनुसार महाधिवेशनमा ७ हजार ५ सयभन्दा बढी प्रतिनिधि सहभागी हुँदै छन् । उनले यो संख्या काँग्रेसको इतिहासमै सबैभन्दा ठूलो प्रतिनिधि सहभागिता भएको दाबी गरे । मतदान राष्ट्रिय सभा गृह, नेपाल प्रज्ञा–प्रतिष्ठान र महाधिवेशन उद्घाटन हुने हल गरी तीन स्थानमा हुनेछ । भूगोलका आधारमा प्रतिनिधिहरूलाई मतदान केन्द्र तोकिनेछ । मतदान भने ब्याटलेमार्फत हुने र मतगणना पार्टी कार्यालयमा गर्ने तयारी रहेको चालिसेले जानकारी दिए ।

    २०८३, आश्विन १७ शनिवार०६:५५:१७

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार