आज नेकपाले बृहत आमसभा गर्दै  

आज नेकपाले बृहत आमसभा गर्दै  

२०७७, माघ २३ शुक्रवार

  • 1.4K
    SHARES

  • आज नेकपाले बृहत आमसभा गर्दै  

    माघ २३, काठमाडौं । 

    नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले आज बृहत् आमसभा आयोजना गर्दै छ । ‘अराजकताको अन्त्य, भौगोलिक अखण्डता, संविधानको रक्षा गर्दै विकास र समृद्धिमार्फत राजनीतिक स्थायित्वका लागि ताजा जनादेश’ भन्ने नाराका साथ नारायणहिटी दरबार अगाडि आमसभा गर्न लागिएको हो ।

    नेकपा केन्द्रीय सदस्य तथा पेशागत विशेष जिल्ला कमिटीका अध्यक्ष प्रेम प्रसाद पराजुलीले सभामा काठमाडौँ उपत्यकासहित वाग्मती प्रदेशका १३ जिल्लाबाट पार्टी नेता, कार्यकर्ता र समर्थक आउने बताए ।

    सभा सम्पन्न गर्न पार्टी काठमाडौँ उपत्यका संयोजक कृष्णगोपाल श्रेष्ठको संयोजकत्वमा एक हजार १११ सदस्यीय जनसभा परिचालन कमिटी गठन गरिएको छ ।

    जुलुस तथा आमसभा व्यवस्थापन गर्न केन्द्रीय सदस्य तथा युवा इन्चार्ज महेश बस्नेतको संयोजकत्वमा २००० सदस्यीय युवा स्वयंसेवक परिचालन गरिएको छ ।

    विहिवार साँझ स्वयंसेवक प्रशिक्षण कार्यक्रम सम्पन्न भए पश्चात राता टोपी लगाएका युवा दस्ताले मार्चपास गर्दै वन्द विरुद्ध खुल्लाको नारा लगाउँदै सहर परिक्रमा गरेका थिए ।  
     
    मध्याह्न १२ बजेदेखि हुने सभामा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसहित उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापालगायत नेताले सम्बोधन गर्ने छन् ।

    सभा हुनुभन्दा अगाडि काठमाडौँ उपत्यकाका १३ स्थानबाट जुलूस निकालिने जनाइएको छ । 

    जुलुसमा साङ्गीतिक प्रस्तुतिसहित कलाकारहरु पनि सहभागी हुनेछन् । पार्टीमा देखिएको सङ्कटबारे जानकारी दिन, सरकारले गरेका राम्रो कामको प्रचार गर्न, ताजा जनादेशमा जान र कम्युनिष्ट आन्दोलनलाई अझ एकताबद्ध गराउन सभा गर्न लागिएको नेता पराजुलीले जानकारी दिए ।   

    सरकारले आगामी वैशाख १७ र २७ गते प्रतिनिधिसभा निर्वाचन घोषणा गरेको छ । सभा सम्पन्न गर्न जिल्ला, पालिका र वडास्तरीय परिचालन कमिटी गठन गरिएको छ । प्रदेश कमिटीले सभाको तयारीस्वरुप बुधबार काठमाडौँमा १० हजार मोटरसाइकलको र्याली गरेको थियो ।

    माघ ९ गतेको पेशाकर्मीको जिल्ला भेलामा प्रधानमन्त्री ओलीले "आमसभा भनेको कस्तो हुन्छ ?- हेर्न २३ गते आउनु" भने सँगै देशैभरका अधिकांश जनप्रतिनिधि एवं सर्वसाधारण समेत काठमाडौं आउन सक्ने आँकलन राजनीतिक विश्लेषकले गरेका छन् । 

    "पार्टीमा घेराबन्दी गरेर काम गर्न दिएनन्, तसर्थ नयाँ जनादेश" भन्दै संसद विघटन गरेका ओलीले आजको सम्बोधनमा केही नयाँ कुरा बोल्न सक्ने अनुमान गरिएको छ ।

    नेतृ निरु पालले विहिवार साँझ सामाजिक संजालबाटै आफ्ना सुझाव राख्दै लेखिन्, "हाम्रो जस्तो गरिव मुलुकले संघियता धान्न सक्दैन । सम्पुर्ण नेपालीको टाउकोमा विदेशी ऋण छ । प्रदेश सरकार खारेज गरौ । प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री हुने व्यवस्था गरौं ।"

    २०७७, माघ २३ शुक्रवार०८:३०:०९

    केशव भट्टराई

    प्रतिक्रिया
    सम्बन्धित समाचार