माघ २७, काठमाडौँ ।
राष्ट्रिय युवा संघ नेपालको अध्यक्षमा वचन सिंह निर्वाचित भएका छन । संघको काठमाडौँमा सोमवार मध्यरात सम्पन्न दोस्रो पूर्ण बैठकले सिंहलाई अध्यक्ष, किरण पौडेललाई सहअध्यक्ष र महासचिवमा रमेश आचार्यलाई निर्वाचित गरेको छ ।
अध्यक्ष मण्डलका अध्यक्ष तथा युवा इन्चार्ज महेश बस्नेतले अध्यक्षमा बचन सिंहको नाम घोषणा गरे सँगै हलमा केहीबेर तनाव उत्पन्न भएको थियो ।
तत्कालिन वरिष्ठ उपाध्यक्ष किरण पौडेललाई अध्यक्षमा रोक्न खोजेको भन्दै आक्रोशित बनेका युवा प्रतिनिधिले पौडेलको समर्थनमा केही बेर नाराबाजी गरेका थिए ।

जोशिला युवाहरुलाई रोक्न नेताहरुले केही समय खर्चनु परेको थियो । यद्यपि घोषणालाई पुरै सुन्न नेताहरुले आग्रह गरे पछि युवा प्रतिनिधि शान्त बनेका थिए ।
उमेर हदका कारण निवर्तमान उपाध्यक्ष समेत रहेका सिंह २०७८ जेठ १६ गते सम्म युवासंघको नेतृत्व गर्ने छन् भने जेठ १६ बाट किरण पौडेल स्वतः अध्यक्ष हुने गरी सहमति भएको छ ।
पुर्ण बैठकबाट संघले केन्द्रीय कमिटी पुरै पुनर्गठन गरेको छ । संघका निवर्तमान आयोगका सदस्यहरु केन्द्रीय सदस्य, केन्द्रीय सदस्यहरु सचिवालय सदस्य, सचिवालय सदस्यहरु स्थायी समितिमा रहने गरि जिम्मेवारी तोकिएको निवर्तमान अध्यक्ष रमेश पौडेलले बताए ।




