फागुन ८, दमौली ।
तनहुँ समाज हङकङले जिल्लाका तीन पत्रकारलाई सम्मान गरेको छ । समाजले जिल्लामा गरेको सामाजिक कामलाई सञ्चारमाध्यमको तर्फबाट प्रचारप्रसारमा सहयोग पुर्याएबापत समाजले तीन पत्रकारलाई सम्मान गरेको हो ।
सम्मानित हुनेहरुमा नेपाल पत्रकार महासङ्घ तनहुँका अध्यक्ष ओमकार आचार्य, उपाध्यक्ष सोनी शर्मा र पत्रकार सुनिता आचार्य छन् ।
शुक्रवार यहाँ आयोजित कार्यक्रममा व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले उनीहरुलाई दोसल्ला, प्रशंसापत्र र नगदले सम्मानित गरेका हुन् । पुरस्कारको राशी जनही रु पाँच हजार रहेको छ ।
सो अवसरमा नगरप्रमुख न्यौपानेले समाजले जिल्लाको शैक्षिक क्षेत्रमा पुर्याएको योगदान अतुलनीय रहेको बताए ।
समाजको कामलाई जनतासामु पुर्याउन योगदान पुर्याउने पत्रकारलाई प्रत्येक वर्ष पुरस्कृत गरिने समाजका पूर्व अध्यक्ष भीमराज गुरुङले जानकारी दिए ।
कार्यक्रममा सम्मानित व्यक्तित्व एवं नेपाल पत्रकार महासङ्घ तनहुँका अध्यक्ष आचार्यले सम्मानले आफूलाई थप हौसला मिलेको बताए ।
समाजले तनहुँमा विगत १० वर्षदेखि शिक्षा, स्वास्थ्य, खानेपानी लगायतका सामाजिक क्षेत्रमा योगदान गर्दै आइरहेको छ । समाजले कोभिड महामारीको बेला दश वटै स्थानीय तहमा रु १५-१५ हजार सहयोग गरेको थियो ।
साथै गत असारमा आएको पहिरोबाट पीडित भएका ऋषिङका पहिरो पीडितलाई समाजले रु दुई लाख ४४ हजार सहयोग गरेको थियो ।
समाजले जिल्लाको शैक्षिक क्षेत्रमा योगदान पु¥याउन रु १५ लाखको अक्षयकोष पनि स्थापना गरेको छ । विसं २०५६ सालमा स्थापित समाजले जिल्लाको विभिन्न विद्यालयमा उक्त अक्षयकोषको व्याजबाट प्राप्त रकमले सहयोग गर्दै आइरहेको छ ।
समाजले यसका अतिरिक्त भानु जन्मस्थल विकास समितिमा रु पाँच लाखको लगानीमा पुस्तकालय स्थापना गरेको छ भने क्यामिनको छापथोक, भीमाद लगायतका स्थानमा खानेपानी आयोजनामा पनि आर्थिक सहयोग गरेको छ । समाजमा चार सय जना तनहुँवासी आबद्ध छन् ।