फागुन १०, काठमाडौँ ।
व्यास अध्येता काशिनाथ न्यौपानेद्वारा लिखित व्यास पराशर र स्व श्री १००८ स्वामी डा रामानन्द गिरीजी महाराजद्वारा नेपाली भाषमा अनुदित अध्यात्मिक रामायणको आइतबार विमोचन गरिएको छ ।
व्यास नगरपालिका–५ स्थित पराशर आश्रम संरक्षण समितिको वार्षिक साधारणसभा तथा १५आँै अधिवेशनका अवसरमा सो कृति विमोचन गरिएको हो ।
ती दुवै कृतिको महेश गुरुकुल आश्रम देवघाटका पीठाधीश श्री १००८ स्वामी रमणनन्द गिरी महाराज, अभय आश्रमका पीठाधीश श्री १००८ स्वामी कृष्णनन्द सरस्वती महाराज, व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपाने र भागवत भास्कर कमलनयन गौतमले संयुक्तरुपमा विमोचन गरे ।
सो अवसरमा श्री १००८ स्वामी रमणनन्द गिरीले बौद्विक चिन्तनका बारेमा नयाँ पुस्ताले ग्रहण गर्नुपर्ने बताए । उनले भने, “धर्मले नै देशलाई बचाएको हुन्छ र यसले गर्दा आज नेपालको शिर ठाडो बनाएको छ ।”
सनातन धर्मको विरुद्धमा भ्रम फैलाउने कार्य भइरहेकाले भ्रमबाट मुक्त गराउन र धर्म, कला संस्कृति संरक्षणका लागि नयाँ पुस्ताले चासो देखाउनुपर्ने समय आएको उनको भनाइ थियो ।
नगर प्रमुख न्यौपानेले नगरपालिका क्षेत्रलाई सनातन हिन्दूहरुको तीर्थस्थलका रुपमा प्रचार गर्नका लागि यस कृतिले महत्वपूर्ण भूमिका खेल्ने बताए ।
नगरपालिकाको ऐतिहासिक, धार्मिक एवं पर्यटन क्षेत्र समेटेर खोज तथा अनुसन्धानमूलक कृति भएकाले नगरपालिको प्रकाशनमा ल्याएको उनले बताए ।
नगरपालिका–४ निवासी साहित्यकार न्यौपानेका यसअघि ११ वटा पुस्तक प्रकाशित भएका छन् भने विभिन्न सङ्घसंस्थाहरुबाट समेत पुरस्कृत भइसकेका छन् ।
धार्मिकस्थलको विकासका लागि तीनैवटा सरकारले ध्यान दिन सके धार्मिक पर्यटकीयस्थलका रुपमा विकास गर्न सकिने प्रचुर सम्भावना रहेको न्यौपानेले बताए ।
समितिका अध्यक्ष ताराप्रसाद श्रेष्ठको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा न्यायाधीश केशरीराज पण्डित, गण्डकी प्रदेशसभा सदस्य दोवाटे विश्वकर्मा, जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्ले, प्रमुख जिल्ला अधिकारी सागर आचार्य, नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य देवकुमार श्रेष्ठ, श्रीकृष्ण द्वैपायनका प्रतिनिधि प्रेमप्रकाश भट्टराई, माँ दुर्गेकी अध्यक्ष कल्पना गौलीलगायत वक्ताहरुले आ–आफ्ना मन्तव्य राखेका थिए ।
यसैबीच समितिको अधिवेशनले पुनः ताराप्रसाद श्रेष्ठलाई अध्यक्ष पदमा सर्वसम्मत चयन गरेको छ । त्यसैगरी उपाध्यक्षमा डा लक्ष्मीकान्त चापागाईं, सचिवमा सत्यप्रसाद खनाल, कोषाध्यक्षमा अर्जुन गिरी र सहसचिवमा राजेन्द्र खनाल चयन भएका छन् ।
त्यसैगरी सदस्यहरुमा कृष्णराज वाग्ले, कृष्ण भारती, नारायणी वाग्ले, भाग्यशाली ढुङ्गाना, भगवती न्यौपाने र पार्वती गिरी चयन भएका छन् ।