राजनीति छिचोल्दै कमलपोखरी पुनःनिर्माणको दुइतिहाई काम सम्पन्न

राजनीति छिचोल्दै कमलपोखरी पुनःनिर्माणको दुइतिहाई काम सम्पन्न

२०७७, फाल्गुण २८ शुक्रवार

  • 3.1K
    SHARES

  • राजनीति छिचोल्दै कमलपोखरी पुनःनिर्माणको दुइतिहाई काम सम्पन्न

    काठमाडौँ । कमलपोखरी पुनःनिर्माणको दुइतिहाई काम सकिएको छ । अहिले पोखरी निर्माणको काम सम्पन्न गरी पोखरी वरपर सौन्दर्यको काम भइरहेको छ ।

    आगामी एक महिनाभित्र सबै सक्नेगरी पुनःनिर्माणको काम भइरहेको काठमाडौँ महानगरपालिकाले जानकारी गराएको छ ।

    सौन्दर्यको कामसँगै काठको केही कलात्मक बुट्टा कुँद्ने काम पनि भइरहेको कामपा भौतिक पुर्वाधार महाशाखा प्रमुख राम थापाले जानकारी दिए । उनका अनुसार अबको केही दिनभित्र पोखरीमा पानी राखिन्छ ।

    पुनःनिर्माणपछिको शुरुआती चरणमा एक लाख लिटर पानी भर्ने योजना छ । सम्पदा पुनःनिर्माणलाई पर्यटनसँग जोडेर दिगो व्यवस्थापनमा कामपाको ध्यान केन्द्रित भएकाले अनावश्यक भ्रम सिर्जना नगर्न सबैमा आग्रह गरिएको छ ।

    एक वर्षभित्र सक्ने गरी अघिल्लो असार १९ गते कमलपोखरी पुनःनिर्माणका लागि शिलान्यास भएको थियो ।

    पोखरी पुनःनिर्माणको जिम्मा धनञ्जय कँडेल जेभी रानीबारीले पाएको छ । निर्माण कम्पनीले पोखरीसँगै उद्यान निर्माणको काम पनि गरिरहेको छ । उद्यान अपाङ्गमैत्री हुनेछ भने बीचमा पानीको फोहोरा हुनेछ ।

    पोखरीको चारै कुनामा कमल रोप्नका लागि साना–साना पोखरी बनाइनेछन् । आगन्तुकलाई बस्नका लागि चौतारा पनि निर्माण गरिनेछन् । वरिपरि बिजुली जडान गरेर झिलीमिली पारिनेछ ।

    त्यहाँ खुला व्यायाम गर्ने ठाउँ, ब्याडमिन्टन र बास्केटबल खेल्ने ठाउँ हुनेछ । पूर्वतिर मूलगेट हुने पोखरी प्रवेश गर्न तीनवटा प्रवेशद्वार बनाइने योजनाअनुरुप काम भइरहेको छ ।

    कामपाले यसअघि नै कमलपोखरी विस्तार योजनाअनुरुप महानगरीय प्रहरी वृत्त कमलपोखरीको कार्यालय, कमलपोखरी स्पोर्ट्स क्लबको भवन र राधे–राधेको सत्सङ्ग रहेको स्थानलाई खुला गरिसकेको छ ।
     
    कामपाका प्रवक्ता ईश्वरमान डङ्गोलका अनुसार अब चारैतिरका कुनामा काठको कलात्मक मण्डप बनाउने योजना छ । त्यहाँ कङ्क्रिटको प्रयोग गर्दैनौँ । उनले बाहिर चर्चा गरेजस्तो पोखरीमा कङ्क्रिट संरचना प्रयोग नगरिएको पनि दाबी गरे ।

    कामपाले करिब २४ रोपनीमा कमलपोखरीलाई ‘सुन्दर बनाउने’ पहल २०७६ असारबाट शुरु गरेको हो । त्यसका लागि रु छ करोड ३६ लाखको ठेक्का पाएको धनञ्जय–कँडेल जेभीले पोखरी वरिपरि सिँढी बनाउने काम गरिरहेको छ ।

    कामपा प्रमुख विद्यासुन्दर शाक्यले मूर्त–अमूर्त सांस्कृतिक सम्पदाको संरक्षण र बचावट, मर्मतसम्भार तथा जीर्णोद्धारको काम कामपाको दायित्व रहेकाले सोहीअनुरुप यस पोखरी पुनःनिर्माण अघि बढाइएको बताए ।

    प्रमुख शाक्यले भने, “अहिले कमलपोखरीको मौलिकता बचाउने नारा लागिरहेको छ, यसको मौलिकता के हो हामीलाई दिनुस् भन्दा पुरातत्व विभाग आफूलाई थाहा छैन भन्छ ।

    कमलपोखरी पुनःनिर्माण गर्दा त्यहाँको वातावरण कसरी बिग्रियो भन्दा त्यसको तथ्यमा उत्तर कसैले दिँदैन । यस प्रकारको विरोधलाई कसरी बुझ्नु ? यो त विरोधका लागि विरोध मात्र हो ।”

    पोखरी पुनःनिर्माण गर्दा क्षेत्र बढाउन लागिएको प्रसङ्ग उल्लेख गर्दै शाक्यले भने, “कामपाले कमलपोखरी बिगार्न वा नास्न खोजेको होइन । पहिलेभन्दा पोखरीको आकार बढाउन डिलमा रहेको प्रहरी वृत्त स्थानान्तरण गरिसकिएको छ ।

    क्लबको भवन हटाउने काम भएको छ । राजनीतिक अभिष्ट भएका मानिस अहिले सम्पदा अभियानकर्मीको खोल ओढेर विरोधमा आएको महसुस भएको छ । यसमा सबै सतर्क हुन आवश्यक छ ।”

    कमलापोखरी पुनःनिर्माणका क्रममा पोखरीको माटो निकालेर आधुनिक निर्माण सामग्री प्रयोग गरी ऐतिहासिक सम्पदाको अस्तित्व विलिन गर्न खोजिएको भन्दै रानीपोखरीमा जस्तै पुरानै शैलीमा निर्माण गर्नुपर्ने सम्पदाप्रेमी आलोक तुलाधारले धारणा राखे ।

    आधुनिक निर्माण सामग्री प्रयोग नगर्न र पोखरीको अतिक्रमित जमिन फिर्ता ल्याउने विषयमा कामपालाई पटक–पटक लिखितरूपमा ध्यानाकर्षण गराउँदासम्म सुनुवाइ नगरेकाले थप कानूनी प्रक्रिया अघि बढाउने तुलाधरको भनाइ छ ।

    २०७७, फाल्गुण २८ शुक्रवार०८:३९:१९
    प्रतिक्रिया
    सम्बन्धित समाचार