हेटौँडामा खानेपानी आपूर्ति सहज

हेटौँडामा खानेपानी आपूर्ति सहज

२०७७, चैत्र २ सोमवार

  • 1.8K
    SHARES

  • हेटौँडामा खानेपानी आपूर्ति सहज


    वाग्मती । वाग्मती प्रदेशको राजधानी हेटौँडामा पछिल्लो पटक माग अनुसार  खानेपानी आपूर्ति  भएपछि सर्वसाधारणलाई सजिलो भएको  छ  ।

    हेटौँडा खानेपानी व्यवस्थापन बोर्डका अनुसार पछिल्लो पटक मकवानपुरको भीमफेदी गाउँपालिका–१ सामरी खोला  नजिकै समवेल ( इनार जस्तै पानी सङ्कलन गर्ने प्रविधि) निमार्ण भएपछि खानेपानी आपूर्ति थप सहज भएको हो ।

    बोर्डले सामरी खोलामा कूल रु एक करोड १५ लाखको लगानीमा समवेल निर्माण गरेको हो  । उक्त समवेलबाट दैनिक २७ लाख लिटर पानी वितरण शुरु गरिएको बोर्डका सूचना अधिकारी सञ्जयकुमार न्यौपानेले जानकारी दिए ।

    नेपाली सेनाको मध्यपृतना हेडक्वार्टर सुपारेटारको जग्गामा सो समवेल बनाइएको छ । पहिले हेटौँडाको मुख्य बजार क्षेत्रमा बिहान र बेलुका मात्र खानेपानी वितरण गरिएको भए पनि अहिले भने दैनिक तीन पटक पानी वितरण गर्न शुरु गरिएको खानेपानी बोर्डका सूचना अधिकारी न्यौपानले जानकारी दिए  ।

    समवेलबाट हेटौँडा उपमहानगरपालिका– २, ४, ५ र १० नम्बर वडाका करीब ८०० घरधुरीलाई दैनिक तीन पटक पानी वितरण हुँदै आएको बोर्डले जनाएको  छ  । 

    समवेल निमार्णअगावै दैनिक एक करोड ४५ लाख लिटर खानेपानी आपूर्ति गर्दै आएको बोर्डले अब भने दैनिक  एक करोड ७२ लाख लिटर खानेपानी आपूर्ति गर्दै आएको छ । बोर्डको कार्य क्षेत्रमा दैनिक एक करोड ८० लाख लिटर खानेपानी माग छ ।

    अझै पनि बोर्डको विस्तारित कार्य क्षेत्र उपमहानगरपालिका– १ को नकौडी,  १६ को आकाशधारा, १७ को दुर्गम क्षेत्र, १५ को चिप्लेटी, १८ को  दुर्गम क्षेत्र र १९ को बाँसपानी क्षेत्र अझै पनि पर्याप्त मात्रमा खानेपानी आपूर्ति हुनसकेको छैन् । साविकको नेपाल खानेपानी संस्थान हेटौँडा शाखा २०७७ जेठ ८ गते हेटौँडा खानेपानी व्यवस्थापन बोर्डलाई हस्तान्तरण गरिएको थियो । 

    २०७७, चैत्र २ सोमवार०५:४७:०४
    प्रतिक्रिया
    सम्बन्धित समाचार