कविता - प्रेमले आत्मा माझेर आऊ

कविता - प्रेमले आत्मा माझेर आऊ

२०७७, चैत्र १२ बिहिवार

  • 4.2K
    SHARES

  • कविता - प्रेमले आत्मा माझेर आऊ

    काठमाडौं ।
    झोसेर आगोको पुल्ठो घर जलाउँछौ अझै कति ?
    पहिले त लाग्दथ्यो राम्रो के भई बिग्रियो मति ?

    के खोसियो मुखको गाँस भोकै छौ र कराउछौं ?
    बैरीको सेवाको लागि आफ्नै घर किन जलाउछौं ?

    के नाङ्गै आँग छ तिम्रो ? कि बस्ने गुन्द्री खोसियो ?
    कि स्वादका परिकार खोसिँदा छट्पटी भयो ?

    सम्मानको ठाउँ छ तिम्रै भोलि राज गरी बस्दछौं
    गोहीका निकाली आँसु आर्तनाद सुनाउँछौ !

    स्वादका गाँस कम हुँदा कोकोहोलो मच्चाउँछौ
    सखिहरू सब बिर्सेर अगस्ती कति बन्दछौ

    नफुकाल सबै बस्त्र अझै ईज्जत ढाक्नु छ
    तिमी मरी गए पनि अरुले अझै बाँच्नु छ

    दुष्टको देखाई मति निर्बस्त्र धारी बन्दछौ 
    रुवाई घरका जहान पराई पाउ पर्दछौ

    संस्थागत मूल्यलाई भुली सगरमाथा मै हुँ भनी 
    नडुक्रनु यहाँ धेरै छ पावर अरूमा पनि 

    रहेका पनि ती सिङ भाँचिने खतरा भयो 
    प्राण पखेरु उडेको मुर्दासरी हुँदै गयो 

    सिँगौरी खेलेर हुन्न आत्मालाप गरौं बसी
    प्रेमले आत्मा माझेर घर सपारौँ भई खुसी 
                          ०००००

     - होमप्रसाद गौतम
    (२०७७ चैत्र ११ गते कोरोना आराम गृहबाट)

    २०७७, चैत्र १२ बिहिवार१०:१०:५१
    प्रतिक्रिया
    सम्बन्धित समाचार