काठमाडौं । पुँजी बजारमा "शेयर बजारका काका" को नामबाट परिचित हुँदै गएको नाम हो केशव कोइराला । कोरोना महामारी र प्रविधिमा आएको तिब्रतम बिकासका कारण पुँजी बजारमा उल्लेख्य लगानीकर्ताको सहभागिता बढेको छ । साना तथा मझौला लगानीकर्तालाई बजारका बारेमा सँधै घच्घच्याई रहने उनै विश्लेषक "काका" सँग स्याटलाईट खबर प्रतिनिधिले गरेको छोटो तर मूल्यवान कुराकानी :
प्रश्न १. निरन्तर घटबढ भइरहेको बजारमा लगानीकर्ताले कसरी नाफा बुक गर्ने ?
उत्तर : बजारमा २ थरिका लगानीकर्ता हुन्छन।
(क). दिर्घकालिन लगानीकर्ता
यस्ता लगानीकर्ताले लामो समयको लागि लगानी गरेको हुन्छ। लगानीको मुख्य उद्धेश्य लगानीमा प्राप्त हुने बार्षिक प्रतिफल हुन्छ। बिच बिचमा केही फराकिलो मुल्यान्तर भएमा आंशिक नाफा बुक गर्ने र सस्तोमा औषत गर्दै जाने विधि अपनाउनुपर्छ ।
(ख). अल्पकालीन कारोबारी
यस्ता लगानीकर्ताको मुख्य उद्धेश्य नै पुँजिगत लाभ आर्जन गर्नु हो। कारोबारीका लागि त निरन्तरको उतार चढाब बरदान नै हो। यस्तोमा कारोबारीले आंशिक जोखिम भएका, औषत भन्दा कम पुँजि भएका, अल्पकालीन राम्रो सुचना आउन सक्ने र मुल्यान्तर लामो हुने समुहका कम्पनी चयन गर्नुपर्छ। त्यस्ता कम्पनीहरुको अल्पकालीन न्यून र उच्च बिन्दुको आँकलन गर्नु पर्छ। हरेक न्यून बिन्दु आसपासमा छिर्ने र उच्च बिन्दुको आसपासबाट निस्कने गर्नुपर्छ।
प्रश्न २. मौसमी खरिदबिक्रीको निरन्तरतामा क्रमभंग भएको हो ?
उत्तर : इतिहासमा नेपाली सेयर बजारलाइ मौसमी लगानीको क्षेत्र मानिन्थ्यो । पुर्ण कालिन लगानीकर्ताहरु बर्षभरि सक्रिय रहे पनि मौसमी लगानीकर्ताहरुको प्रबेश बजार घटेको मौसम (चैत) तिर हुन्थ्यो । बिस्तारै बजारमा रौनकता बढ्दै जान्थ्यो । असार मसान्तमा आर्थिक बर्ष समाप्त हुन्छ। असोज सम्ममा लेखापरीक्षण सकेर भटाभट लाभांश घोषणा शुरु हुन्थ्यो । बजारमा एकाएक तेजि आउँथ्यो । मौसमी लगानीकर्ताहरु नाफा बुक गर्दै कार्तिक सम्ममा बाहिरिन्थे।
तर बिगत केही बर्षहरु देखि धितोपत्र बजारमा आमुल परिवर्तन भएको छ। डिजिटल प्रबिधिले गर्दा ३०औँ लाख हितग्राही खाता खुलेका छन्, २०औँ लाख प्राथमिक निस्कासनमा सहभागी भएका छन्। लाखौँ लगानीकर्ताहरु दोस्रो बजारमा खरिदबिक्री गर्दैछन्। लाखौँ पुर्णकालिन लगानीकर्ता भैसके। चालू आवमा त कोरोनाले अर्थतन्त्रका अन्य क्षेत्र सुस्ताएकाले धितोपत्र बजारमा छुट्टै रौनकता थपियो । यश बिच मौसमी लगानी भन्ने नै देखिएन।
प्रश्न ३. कबाडा सेयर भनेर चर्चित हुनु भयो नि ?
उत्तर : धितोपत्र बजारमा कारोबारी बढे सँगै प्रतिफलमा आधारित लगानी भन्दा पुँजिगत लाभमा आधारित लगानी बढेको छ । अधिकांशमा रातारात करोडपति-अर्बपती बन्ने भुत सवार छ। लगानीकर्तामा कम्पनीको बित्तिय अवस्था विश्लेषण गर्ने क्षमता र इच्छाशक्ति दुबै देखिँदैन ।
सामाजिक संजालको स्याल हुँइया र अमुक दलालको फ्लोर सिट नै लगानीको मुलमन्त्र बनेको छ। यस्ता आँखामा पट्टी बाँधेका डेढ अक्कली कारोबारी फसाउन केही टाठाबाठा ठुला लगानीकर्ताहरुले कमजोर बित्तिय सुचकांक भएका, घाटामा डुबेका, टाट पल्टिन लागेका, बार्षिक मुद्दती ब्याजदर बराबर पनि आय आर्जन गर्न नसक्ने, प्रतिफल दिनै नसक्ने, प्रतिफल दिए पनि नगन्य दिने रद्दी कम्पनीहरुलाई मैले कबाडा, झण्डिमार, बेलुन र चिया बिस्कुट कम्पनी भन्ने गरेको छु।
प्रश्न ४. नयाँ लगानीकर्तालाई कस्तो सुझाव दिनु हुन्छ ?
उत्तर : म लामो समय देखि नयाँ लगानीकर्ताहरुको लगानी सकेसम्म संरक्षण गरौँ भन्ने अभियान नैँ चलाउँदै आएको छु। नयाँ साथीहरू केही सचेत मात्रै भैदिए वहाँहरुले पनि राम्रो आर्जन गर्न सक्नुहुन्छ ।
त्यसमा केही कुराहरु बुँदागत रुपमा राख्छु:
-धितोपत्र बजारमा छिर्ने बित्तिकै रातारात पैसा छाप्छु भन्ने भ्रम त्याग्ने। तपाईंको पहिलो उद्धेश्य कारोबार गर्न अनुभव बटुल्ने हो।
-सावाँ लगानीको सुरक्षालाइ पहिलो प्राथमिकता दिने। बुलिस बजारमा सावाँ जोगाउन सके कमाउने अवसर बारम्बार आउँछ ।
-लगानी गर्नु अघि सम्बन्धित कम्पनीको पर्याप्त अध्ययन गर्ने।
-कारोबारमा सफल हुन लामो अनुभव चाहिन्छ । शुरुवातमा धेरै बार्षिक प्रतिफल दिँदै आएका, प्रतिसेयर आम्दानी धेरै भएका, मूल्य आम्दानी अनुपात कम भएका कम्पनी छानेर बुझेर मात्रै लगानी गर्ने ।
-सामाजिक सन्जाल र विभिन्न अनलाइन मिडियाको भ्रमपुर्ण समाचारमा ध्यान नदिनुस। ती सुचनाले तपाईंलाई गलापासो बनाउँछन्।
-केही दिनबाट लगातार बढेका कम्पनीमा ध्यान नदिनुस, नकिन्नुस त्यस्ता कम्पनीले तपाईंलाई प्राय डुबाउँछन्। केही दिनबाट लगातार घटिरहेको कम्पनीमा ध्यान दिनुस। ती मध्ये मजबुत कम्पनीको छनौट गरेर लगानी गर्नुस। मूल्य नबढुन्जेल धैर्य गरेर पर्खनुस। तपाईंले पक्कै कमाउनु हुन्छ।
-तपाईंले किनेको कम्पनी भोलिपल्ट बाटै बढ्नुपर्छ भन्ने अपेक्षा नगर्नुस। धोबीलाइ हतार भयो भनेर आधा रातमा घाम लाग्दैन । हप्तै पिच्छे बढेन भनेर बेच्दै सर्किट लागेका कम्पनी तिर सार्न थाल्नु भयो भने सावाँ नै गुम्छ भन्ने कुरा नभुल्नु।