काठमाडौं ।
———————
एउटा ख्याउटे अनुहार
भादगाऊँले टोपी लगाएर
लुखुर लुखुर हिँड्दै
बिहानदेखि बेलुकासम्म,
आंगनदेखि बार्दली, छतसम्म
पुजा कोठादेखि बैठक कोठासम्म पुग्ने
अनि,
आमा सन्चै हुनुहुन्छ ?
बुबा सन्चै हुनुहुन्छ ?
दाजु सन्चै हुनुहुन्छ ?
दिदी सन्चै हुनुहुन्छ ?
भाई सन्चै छौ ?
बाबु के छ खवर ?
दु:ख सुख सोध्दै
चुनाव होस कि नहोस
एउटा हँसिलो केटो
मुस्कुराउँदै, मुस्कुराउँदै
तपाईँ कै घरघर चहार्ने
सरल, मृदुभाषी, मिलनसार
सबैका प्रिय, नविन्द्र दाई
यस धर्तीबाट अस्ताए,
आज एउटा असल नेता ढल्यो ?
——————
के बृध्द, के युवा,
के तरुण, के बालक
के महिला, विद्यार्थी
के जनजाती, के आदिवासी
के दलित, के मधेशी
के किसान, के मजदुर
के व्यापारी, के कर्मचारी,
के पक्ष के विपक्ष
सबैको पक्षमा बुलन्द वकालत गर्ने
हक्की स्वभावका
आस्था र धरोहरका प्रतिक
समाजवादका पथ प्रदर्शक
सबैका प्रिय,
नविन्द्र दाई
यस धर्तीबाट अस्ताए,
आज एउटा असल नेता ढल्यो ?

———————
सपना थुप्रै देखेका थिए,
समुन्नत र समृध्द बनाउछु भन्थे,
नेपाललाई,
अनवरत प्रयास गर्दै थिए,
सोच, संकेत सकारात्मक थिए,
विधी सम्मत चल्नु पर्छ भन्थे-पार्टीमा,
नेता नविन्द्र,
विपीका सच्चा चिन्तक थिए,
गणेशमानका झै चट्टानी अडानका थिए,
किसुनजीका झै सादगी थिए,
गिरीजाको झै कुशल संगठनकर्ता थिए,
यस्ता कुशल योध्दा,
नेपाली जनजनका मुटुका टुक्रालाई
चीर निन्द्रामै
दैवले चुडेर लग्यो,
प्रजातन्त्रवादीहरुलाई
टुहुरो र विक्षिप्त बनायो
आमा तिमीले एउटा असल
सपुत जन्मायौ
त्यसैमा गर्व गर,
सबै प्रजातन्त्रवादी तिम्रै छोरा हुन्,
तपाईँ जस्तो आमालाई नमन छ,
सपनाका सपना पनि अधुरै रह्यो
शाहस, धैर्य गर
यो देशले सधै सम्झिरहनेछ
सबैका प्रिय
नविन्द्र दाई
यस धर्तीबाट अस्ताए,
एउटा असल नेता ढल्यो ?
———————
सुन्दर पन्त
नागार्जुन-१०, काठमाडौ ।