मंसिर २३, काठमाडौं ।
लामो समय देखि नियमित बढिरहेको सेयर बजारमा मंगलबार मात्रै नियमित करेक्सन आएको छ। सुरुवाती समय करिब ४५ अंक सम्मले उचालिएको बजार विस्तारै घट्दै १२ बजेतिर हिजोकै अवस्थामा आएको थियो। त्यसपछि फेरि उकालो लागेको बजार २ बजेतिर घट्दै जाँदा २२ अंकसम्म तल झरे पनि अन्त्यमा ९ अंकले घटेर बन्द भएको छ।
सूचक घट्दा कारोबार रकम समेत घटेर साढे ५ अर्ब रुपैयाँमा सीमित भएको छ। दैनिक एक अर्ब रुपैयाँ बढीको सेयर किनबेच हुने नेपाल पुनर्बीमाको कारोबार समेत ४५ करोड रुपैयाँमा सीमित भएको छ।
एक करोड २५ लाख कित्ता सेयर किनबेच हुँदा कारोबार रकम समेत घटेर ५ अर्ब ७१ करोड रुपैयाँमा सीमित भएको छ।
लगातार बढेको बजार राष्ट्र बैंकको मौद्रिक समीक्षाका कारण एकै दिन १२३ अंकले घटेको थियो। त्यो बाहेक बजारमा नियमित आउने करेक्सन हुन सकेको थिएन।
हाइड्रोपावर र म्याचुअल फण्ड बाहेक सबै उपसूचक रातो भएको बजारमा माथिल्लो तामाकोशी, रसुवागढी र साञ्जेन जलविद्युत कम्पनीको सेयर मूल्य करिब १० प्रतिशतले बढेको छ। त्यस्तै नारायणी डेभलपमेन्ट बैंकको सेयर मूल्य पनि १० प्रतिशतले बढेर सर्किट लागेको छ।
युनिलिभरको ६ प्रतिशत, सपोर्ट माइक्रो फाइनान्स र नेपाल सेवा लघुवित्तको सेयर मूल्य ५/५ प्रतिशतले घटेको छ। कारोबार भएका २०२ कम्पनी मध्ये ४० कम्पनीको मूल्य बढ्दा १० कम्पनीको मूल्यमा कुनै परिवर्तन आएन भने बाँकी सबै कम्पनीको मूल्य घटेको छ।
नेपाल पुनर्बीमा कम्पनीको आज ४५ करोड रुपैयाँको मात्रै किनबेच हुँदा नेपाल लाइफको ३० करोड, नेपाल टेलिकमको २५ करोड, माथिल्लो तामाकोशी र शिवम् सिमेन्टको १६/१६ करोड रुपैयाँको सेयर किनबेच भएको छ।