काठमाडौं । नेपाल धितोपत्र बोर्डले अजोड इन्स्योरेन्स लिमिटेडको धितोपत्र कारोबार सम्बन्धमा अध्ययन गर्न निर्देशकको संयोजकत्वमा एक छानबिन समिति गठन गरेको छ ।
यही चैत १६ गते भएको कारोबारमा कैफियत देखिएको भन्दै बोर्डले उक्त छानबिन समिति गठन गरेको सहप्रवक्ता रुपेश केसीले जानकारी दिए ।
सो कम्पनीको हकप्रद शेयर निष्काशन गर्ने सूचना सार्वजनिक हुनु अगावै शेयर कारोबारमा वृद्धि भएको भन्दै बोर्डमा गुनासो प्राप्त भएको जनाइएको छ । त्यसदिनको कारोबारको अवस्था, प्रारम्भिक सुपरिवेक्षणमा देखिएको विवरण तथा कारोबारसम्बन्धी विवरण बोर्डमा पेश गर्न नेपाल स्टक एक्सचेञ्जलाई पत्राचार गरिएको बोर्डले जनाएको छ ।
कुनै भित्री कारोबार भएको पाइएमा नियमानुसार कारबाही अगाडि बढाइने बोर्डको भनाइ छ । धितोपत्र बजारका स्थापित मूल्य मान्यता अनुरुप बजारलाई स्वच्छ र पारदर्शी रुपमा सञ्चालन गर्न अनुरोध गर्दै बोर्डले गलत काम गर्नेलाई कारबाहीको दायरामा ल्याइने जनाएको छ ।
अजोड कारोबारमा मात्र हैन अधिकांश निर्जिवन विमा कम्पनिले हकप्रद शेयर निस्कासन गर्ने भन्दै गोप्य सूचना चुहाएर इन्साइडर ट्रेडिंगका कारण लगानीकर्ता मारमा पर्ने चिन्ता विश्लेषक केशव कोइरालाले गरेका छन् । मूल्य बढाई बेचेर कम्पनि सम्बद्ध मानिसहरु बजारबाट बाहिर निस्कँदा सोझा साना तथा मध्यम लगानीकर्ताको साँवा नै गुम्ने खतरा बढेको कोइरालाको आक्रोश छ ।
त्यसै गरि अर्का लगानीकर्ता शिवचन्द्र लेख्छन्, "एक हप्ता अगाडी अजोडमा बेजोड ईन्साईडर ट्रेडिङ हुँदा नदेखे झैं गरेर चुईंक्क नबोल्ने मुख्य जिम्मेवार निकाय अहिले एक हप्ता पछी बर्बराउनु पनि ईन्साईडर ट्रेडिङ नै हो ! नेप्सेले तत्काल कारोबार रोकेर अनुसन्धान गर्नुपर्ने हैन ? धितोपत्र बोर्डले एक्सन लिन निर्देशन दिनुपर्ने हैन ? बरु आ-आफ्नो ठाउँबाट हामीले तत्काल सुसुचित गराएका थियौं।"