आज घोडेजात्रा, सांकेतिक रुपमा मात्र मनाइने 

आज घोडेजात्रा, सांकेतिक रुपमा मात्र मनाइने 

२०७७, चैत्र २९ आइतवार

  • 1.5K
    SHARES

  • आज घोडेजात्रा, सांकेतिक रुपमा मात्र मनाइने 

    काठमाडौं । प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन मनाइने घोडेजात्रा पर्व आज मनाइँदैछ । उपत्यकामा कोरोना भाइरसको सङ्क्रमण फेरि बढ्न थालेकाले एक तिहाइलाई मात्र कार्यक्रममा आमन्त्रण गरिएको नेपाली सेनाले जनाएको छ । भाइरसको सङ्क्रमण आम मानिसमा नफैलियोस् भनी सतर्कता अपनाउँदै यसो गरिएको हो । 

    जनविश्वासअनुसार टुँडिखेलको पूर्व–दक्षिण दिशामा रहेको एउटा रूखमा बास गर्ने गुरुमापा भन्ने राक्षसले शहरका बालबालिकालाई खाने गरेको थियो । पीडित स्थानीयवासीले विभिन्न उपायले त्यसलाई संहार गरे । राक्षसको प्रेतात्मा फेरि जागा भई बालबालिकालाई अनिष्ट गर्नसक्ने भय स्थानीयवासीमा रहिरह्यो । 

    यसै कारण प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन घोडेजात्रा गरी गुरुमापाको आत्मालाई घोडाको टापले कुल्चाएर दबाउने गरिएको हो । साथै शहरका कुनै पनि बालबालिकामाथि खतरा नहोस् भनी आजै राति त्यही रूखको फेदमा गुरुमापालाई खानेकुरा पनि दिइन्छ । यसो गरेपछि वर्षभर बालबालिकालाई गुरुमापाबाट खतरा नहुने विश्वास राजधानीवासीमा छ ।

    नेपाली सेनाका तर्फबाट आजै टुँडिखेलमा अश्वकला, मोटरसाइकल खेल, शारीरिक व्यायाम, युद्धकलालगायतको प्रदर्शन गरिन्छ । आजकै दिन ललितपुरमा पनि एउटा कानो घोडा दौडाएर घोडेजात्रा मनाउने परम्परा छ । 
     
    गत वर्ष कोरोना महामारीका कारण बन्दाबन्दी जारी गरिएकै दिन घोडेजात्रा परेकाले कार्यक्रम स्थगित गरिएको थियो । यस वर्ष पनि सेनाले थोरैलाई आमन्त्रित गरेर साङ्केतिकरूपमा मात्र जात्राका कार्यक्रमलाई निरन्तरता दिन लागेको हो ।

    २०७७, चैत्र २९ आइतवार०६:२२:१४
    प्रतिक्रिया
    सम्बन्धित समाचार