काठमाडौं । 'डिभोर्स पछि लभ' को कुरा एमालेमा एकता नहोस भन्ने भावनाबाट आएको युवा नेता नवराज पौडेलले बताएका छन् ।
पहिले भिडेर र नसकेपछि मिलेर कमजोर बनाउने नियत बोकेको मिसनले एमालेले अङ्गीकार गरेकोे बाटो र त्यसले जनतामा स्थापित गरेको विश्वासको धरहरा भत्काउन लागिपरेको थियो जसमा मिसनले आंशिक सफलता प्राप्त गरेको पुर्व अनेरास्ववीयु उपाध्यक्ष पौडेलको दावी छ ।
मिलेका नेतृत्वको विचमा चुक्ली लगाएर, फुर्क्याएर, अर्कोप्रति अविश्वास चुल्याइदिएर फुटाउने र 'कब्जा' गर्ने रणनीति केही मात्रामा सफल हुँदै गएकाले सो भ्रमबाट मुक्त हुनसमेत उनले नेताहरुलाई खबरदारी गरेका छन् ।
"अहिलेको अवस्थामा भ्रमबाट मुक्ति र सत्प्रयत्नबाट एकताको मार्ग नै एकमात्र विकल्प हो । सबै खाले षड्यन्त्र र भ्रमलाई तोड्दै मनहरुलाई मुटुसँग जोडेर अघि बढौँ", पौडेलले भनेका छन् ।
फागुन २३ गते आएको सर्वोच्चको फैसलाका कारण नेकपा एमाले र माओवादी केन्द्र अलग बनेका थिए । तर त्यो फैसलाले माधव र हामी (प्रचण्ड) बीचमा परेको डिप लभ भत्काईदिएको प्रचण्डले बताउने गरेका छन् भने माधव पक्षबाट खण्डन नभएकोमा नेता कार्यकर्ताहरु आक्रोसित बनेका हुन् ।
वौद्धिक र शालिन देखिने नेता पौडेल माधव पक्षधर मानिन्छन् ।