गरुवामा पुल शिलान्यासः वर्षौँको पिरलो हट्नेमा स्थानीय आशावादी

गरुवामा पुल शिलान्यासः वर्षौँको पिरलो हट्नेमा स्थानीय आशावादी

२०७७, मंसिर २४ बुधवार

  • 1.9K
    SHARES

  • गरुवामा पुल शिलान्यासः वर्षौँको पिरलो हट्नेमा स्थानीय आशावादी

    मंसिर २४, इलाम ।

    माई नगरपालिकाको गरुवा खोलामा पुलको शिलान्यास भएपछि स्थानीयवासी आशावादी देखिएका छन् । पुलको शिलान्यास भएसँगै बर्खामास खोलाबाट तर्नुपर्ने समस्या हट्नेमा स्थानीयवासी आशावादी देखिएका हुन् ।

    बर्खामास खोला बढ्दा यहाँका स्थानीयवासीलाई ज्याननै जोखिममा पारेर खोला तर्नुपर्ने बाध्यता छ । अब भने केही सालमै पुल बनिने भएपछि स्थानीयवासी खुसी देखिएका हुन् । 

    “अब पुलको सपना पूरा हुन्छ भन्नेमा छौँ”, स्थानीय बलबहादुर राईले भने, “शिलान्यासपछि केही आश पलाएको छ ।”

    धरमुपुर र सिञ्जालीटार जोड्ने २५ मिटर लम्बाइको पुल १ नम्बर प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री इन्द्र आङ्बोले मङ्गलबार शिलान्यास गरे । प्रदेश सरकार र माई नगरपालिकाको साझेदारीमा आउँदो दुई वर्षभित्र पुल बनिसक्नेगरी ठेक्का लागेको छ ।

    पुल शिलान्यास कार्यक्रममा मन्त्री आङ्बोले देश समृद्धिको यात्रामा अघि बढेका बेला पूर्वाधार विकासको काम धमाधम भइरहेको बताए ।

    “बजेट पहिले नै निश्चित भएकाले यो पुल निर्माणका लागि आर्थिक अभाव रहँदैन”, उनले भने, “पुल समयमै निर्माण सम्पन्न गरी स्थानीय उपभोक्तालाई सेवा दिन प्रदेश सरकार प्रतिबद्ध छ ।” गरुवा खोलामा निर्माण हुने पुलले नगरको वडा ४, ५ र १० तथा सूर्योदय नगरपालिकाको वडा १३ र १४ का नागरिक लाभान्वित हुने छन् ।

    २०७७, मंसिर २४ बुधवार०८:११:४३
    प्रतिक्रिया
    सम्बन्धित समाचार