४० अंकले घटेको बजारमा पौने ५ अर्बको मात्रै कारोबार, नेपाल ल्युव आयलको मात्र २४ कित्ता किनबेच

४० अंकले घटेको बजारमा पौने ५ अर्बको मात्रै कारोबार, नेपाल ल्युव आयलको मात्र २४ कित्ता किनबेच

२०७७, मंसिर २४ बुधवार

  • 1.3K
    SHARES

  • ४० अंकले घटेको बजारमा पौने ५ अर्बको मात्रै कारोबार, नेपाल ल्युव आयलको मात्र २४ कित्ता किनबेच

    मंसिर २४, काठमाडौं ।

    आज पनि लगातार सेयर बजार ओरालो लागेको छ । बुधबार करिब ४० अंकले घटेको बजार १९५५ अंकमा रोकिएको छ। मंगलबार बजार ९ अंकले मात्रै घटेको थियो।

    लगातार बढेको बजारबाट नाफा बुक गर्नेहरु सक्रिय भएपछि दोहोरो अंकले घटेको बजारमा ४ अर्ब ७५ करोड रुपैयाँको मात्रै कारोबार भएको छ। साताको शुरुवाती दिन देखि नै कारोबार रकम भने घट्दो दरमा छ । हिजो मंगलवारको बजारमा ५ अर्ब ७१ करोड, सोमबार ६ अर्ब ६६ करोड र आइतबार ७ अर्ब २२ करोड रुपैयाँको कारोबार भएको थियो।

    बुधबार दोहोरो अंकले घटेको बजारमा सबै उपसूचक रातो हुँदा पनि जलविद्युत समुहमा भने आंशिक हरियाली छाएको छ। साञ्जेन जलविद्युत कम्पनी र नारायणी डेभलपमेन्ट बैंकको मूल्य १०/१० प्रतिशतले बढ्दा रसुवागढी हाइड्रोपावरको मूल्य ७ प्रतिशत र माथिल्लो तामाकोशीको मूल्य पनि करिब ५ प्रतिशतले बृद्धि भएको छ।

    आज जीवन र निर्जिवन बीमा समुहको उपसूचक सर्वाधिक घटेको छ। जीवन बीमा समुह २७० अंकले घट्दा निर्जिवन बीमा समुह २२५ अंकले घटेको छ। घट्ने क्रममा अरुण भ्याली र हिमालयन ऊर्जाको मूल्य ५ प्रतिशतले घटेको छ। अधिकांश लघुवित्त कम्पनीको मूल्य पनि करिब ५ प्रतिशत हाराहारीले घटेको छ।

    सर्वाधिक किनबेच हुने कम्पनीमा २ वटा बीमा कम्पनी र ३ वटा जलविद्युत कम्पनी अघि रहेका छन्। सर्वाधिक कारोबार हुने क्रममा बुधबार पनि नेपाल पुनर्बीमा कम्पनीलेनै लिड गरेको छ। कम्पनीको ४२ करोड रुपैयाँको सेयर किनबेच भएको छ। कारोबार रकम र सेयर मूल्य घट्दो अवस्थामा रहे पनि यो कम्पनीको सेयर सर्वाधिक किनबेच हुने गरेको छ।

    सर्वाधिक किनबेच हुने क्रममा माथिल्लो तामाकोशीको करिब २६ करोड, अरुण काबेली पावरको २३ करोड, नेपाल लाइफको २० करोड र रसुवागढी हाइड्रो पावरको १३ करोड रुपैयाँको सेयर किनबेच भएको छ।

    २०१ कम्पनीको कारोबार भएकोमा ३२ कम्पनीको मूल्य बढेको छ भने ६ वटा कम्पनीको मूल्यमा कुनै परिवर्तन आएको छैन। बाँकी सबै कम्पनीको मूल्य घटेको छ। आज नेपाल ल्युव आयलको जम्मा २४ कित्ता कारोवार हुँदा ११ अंकले बढेर २४९ रुपयामा कारोवार भएको छ । 

    २०७७, मंसिर २४ बुधवार०३:५६:२९
    प्रतिक्रिया
    सम्बन्धित समाचार