आज रामनवमी, अयोध्यापुरीमा राम-सीताका मूर्ति प्रतिस्थापन गरिँदै

आज रामनवमी, अयोध्यापुरीमा राम-सीताका मूर्ति प्रतिस्थापन गरिँदै

२०७८, बैशाख ८ बुधवार

  • 2.0K
    SHARES

  • आज रामनवमी, अयोध्यापुरीमा राम-सीताका मूर्ति प्रतिस्थापन गरिँदै

    वैशाख ८, काठमाडौं । चैत्र शुक्ल नवमीका दिन मर्यादा पुरुषोत्तम भगवान् रामचन्द्रको सम्झनामा मनाइने ‘रामनवमी’ पर्व आज देशभरि श्रद्धा र भक्तिपूर्वक पूजा आराधना गरी मनाइँदैछ । यस पटक भने यो पर्व वैशाखमा परेको छ । 

    असत्यमाथि सत्यको विजय तथा भगवान् श्रीरामको सम्झनामा मनाइने रामनवमीका अवसरमा देशभरका राम मन्दिरहरुमा पूजापाठ गरिन्छ । रामसिताको विशेष क्षेत्रको रुपमा रहेको जनकपुरस्थित रामजानकीको मन्दिरमा पनि नेपाल तथा भारतका नरनारीको घुइँचो छ ।

    त्रेतायुगमा आजकै दिन अयोध्यामा राजा दशरथ र रानी कौशल्यावतीको जेठो छोरोको रुपमा विष्णुको अवतार लिएर श्रीरामको जन्म भएको धर्मग्रन्थमा उल्लेख छ । रामले मिथिलाका राजा जनककी छोरी सीतासँग विवाह गरेको र दुष्टहरुको संहार गरेको वाल्मिकीय रामायणमा पढ्न पाइन्छ ।

    रामनवमीका दिन श्रीरामको व्रत, उपवास गरी पूजा, आराधना गर्नाले लोकमा सुख, शान्ति र परलोकमा सद्गति पाइने धार्मिक विश्वास छ ।

    गत वर्षजस्तै यस वर्ष पनि कोरोना संक्रमणको जोखिम भएकाले मन्दिरहरुमा पनि स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्न सरकारले सबैलाई आग्रह गरेको छ ।

    यसै अवसर पारेर चितवनको माडीस्थित अयोध्यापुरीमा राम-सीताको मूर्ति आज प्रतिस्थापन गरिँदै छ । प्रतिस्थापन गर्ने मूर्तिहरु मंगलबार नै प्रधानमन्त्री निवास बालुवाटारबाट रथयात्रासहित चितवन लगिएको छ ।

    संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री भानुभक्त ढकालको नेतृत्वको रथयात्रा समूह मंगलवार साँझ चितवनको देवघाट पुगेको छ । 

    बुधबार बिहान गण्डकीमा स्नानसहित पूजा गरी चितवनको माडीस्थित अयोध्यापुरीतर्फ रथयात्रा अघि बढ्ने छ ।

    राम-सीताका मूर्ति बुधबार मध्याहृन १२ः३० बजेको साइतमा प्रतिस्थापन गर्ने तयारी छ । मूर्ति प्रतिस्थापनपछि पूजा आराधना, भजनकीर्तनलगायत कार्यक्रमसमेत राखिएको छ ।

    प्रधानमन्त्री ओलीले गत असारमा रामको जन्म अयोध्यापुरीमा भएको दाबी गर्दै सो स्थानमा राम, सीता, लक्ष्मण र हनुमानका मूर्ति राख्ने घोषणा गरेका थिए । सोहिअनुरुप उक्त ठाउँमा मूर्ति प्रतिस्थापन गर्न लागिएको हो । 

    २०७८, बैशाख ८ बुधवार०८:०२:५९
    प्रतिक्रिया
    सम्बन्धित समाचार