आठ महिनापछि आजबाट सदर चिडियाखाना खुल्दै

आठ महिनापछि आजबाट सदर चिडियाखाना खुल्दै

२०७७, मंसिर २५ बिहिवार

  • 1.3K
    SHARES

  • आठ महिनापछि आजबाट सदर चिडियाखाना खुल्दै

    मंसिर २५, काठमाडौं ।

    विश्व महामारीका रुपमा फैलिएको कोभिड–१९ को सङ्क्रमण नेपालमा पनि देखिएसँगै गत चैत ७ गतेदेखि बन्द भएको जावलाखेलस्थित सदर चिडियाखाना आजदेखि खुल्ने भएको छ । 

    नेपाल सरकारको कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सिसीएमसी) को निर्णयपछि स्वास्थ्य सुरक्षाका आवश्यक मापदण्ड पालना गरी बिहीबारदेखि चिडियाखाना खुल्न लागेको व्यवस्थापन पक्षले जनाएको छ । 

    चिडियाखानामा प्रवेशका लागि स्वास्थ्यका मापदण्ड तयार गरिएको बताउँदै चिडियाखाना व्यवस्थापन प्रमुख डा चिरञ्जीवीप्रसाद पोखरेलले प्रवेश टिकटको डिजिटलाइजेसन गरिएको र अनलाइनमार्फत पनि लिन सकिने जानकारी दिए ।   

    चिडियाखानामा प्रवेश गर्दा हरेक व्यक्तिले मास्क अनिवार्य लगाउनुपर्ने र प्रवेश क्षेत्रमा सेनिटाइजरको व्यवस्था गरिएको छ ।

    भिडभाड व्यवस्थापन गर्न एकपटकमा बढीमा ७०० देखि ८०० व्यक्तिलाई मात्र प्रवेश दिने र त्यसपछि अवलोकर्ताको सङ्ख्या धेरै भएमा जति व्यक्ति अवलोकनपछि बाहिरिन्छन् त्यति नै सङ्ख्यामा मात्र नयाँ प्रवेश गर्न दिने व्यवस्था गरिएको उनले बताए । 

    यसैगरी चिडियाखानाभित्र बसेर खान र वन्यजन्तुलाई खुवाउन, छुन नपाउने, एक व्यक्ति बढीमा डेढ घण्टामात्र बस्न पाउने, बालबालिकालाई खेलाउन नपाउनेजस्ता मापदण्ड तयार गरिएको छ ।

    यसअघि झैँ हरेक दिन बिहान १० देखि साँझ ५ बजेसम्म अवलोकनका लागि सञ्चालन हुनेगरी नै मापदण्ड तयार गरिएको छ । हाल चिडियाखानामा ११० प्रजातिका एक हजार ६८ वन्यजन्तु छन् । 

    अवलोकनका गर्न विदेशीका लागि रु ७५०, सार्क राष्ट्रका पाहुनाका लागि रु ५००, नेपालीलाई रु १५० र नेपाली विद्यार्थी तथा ज्येष्ठ नागरिकका लागि रु ९० शुल्क निर्धारण गरिएको छ ।

    वार्षिक ११ लाख दर्शक अवलोकन गर्न आउने यहाँ प्रवेश शुल्कबाट नै वार्षिक रु १५ देखि १६ करोडसम्मको आर्थिक कारोवार हुने गरेको छ ।

    अवलोकन गर्न आएका अवलोकनकर्ताबाट प्राप्त शुल्कबाट कर्मचारी व्यवस्थापन र जनावरलाई खानपानको व्यवस्थापन गर्दै आएको चिडियाखानामा विगत आठ महिना बढी समयदेखि आम्दानी शून्य भएपछि खर्च व्यवस्थापन गर्न समस्या भएको चिडियाखाना व्यवस्थापन पक्षले जनाएको छ । 

    तत्कालीन राणा प्रधानमन्त्री जुद्ध शमशेरद्वारा विसं १९८९ मा निजीरुपमा स्थापना गरिएको सदर चिडियाखाना विसं २०११ देखिमात्र सर्वसाधारणलाई खुला गरिएको थियो ।

    चिडियाखाना २०५२ सालदेखि राष्ट्रिय प्रकृति संरक्षण कोषद्वारा व्यवस्थापन गरिएको हो । 

    २०७७, मंसिर २५ बिहिवार०७:३१:३३
    प्रतिक्रिया
    सम्बन्धित समाचार