काठमाडौँ ।
काठमाडौँमा धरहरा पहिले पनि थियो
काठमाडौँमा धरहरा अहिले फेरि ठडियो
धरहरा ठडिन व्यक्ति होइन देशले योगदान गर्यो
धरहरा ठडिन गोजी होइन राष्ट्रको ढुकुटी सकियो
धरहरामा नाम लेखाउँदैमा त्यो व्यक्तिको हुँदैन
धरहरामा भिड थुपार्दैमा त्यो कुनै शक्तिको हुँदैन
धरहरा राष्ट्र हो तर यो समग्र देशको प्रतिनिधित्व होइन
धरहरा ठडिँदा के तुइनमा मृत्यु जोखेर बाँच्ने ठडिए र ?
राजधानीमा धरहरा ठडिँदा हर्षोल्लास प्रकट भयो
तर के जुम्लाका रोगपीडितलाई अस्पताल ठडियो ?
राजधानी मात्र देश सम्झनेहरूका आँखा विवेकी हुन् ?
धरहरा हाँस्दा के सिङ्गो नेपाल हाँस्न सकेको छ र ?
धरहराको उचाइले नेपालीको उचाइ बढेको छ र ?
धरहराको प्रशंसाले भोकग्रस्त नेपाल प्रशंसित हुन्छ र ?
सहरका आलिसान भवनमा अडेको नेपालीको आँखा
सुदूरका क्षतविक्षत जीवनप्रति कहिले न्यायिक भएनन्
हे धरहरा ! तिम्रो पनि रूप त्यस्तै हो जतिसुकै अग्ले नि
सिङ्गो नेपाल र नेपालीको अग्लाइमा तिम्रो देन शून्य छ
केहीका जुँगामा ताउ लगाउनमा तिम्रो भूमिका बन्ला
तर नेपालीको हृदय र व्यथा नाप्न तिम्रो उचाइ व्यर्थ छ
तिमी ठडिएकोमा वाह वाह भन्नेहरूले बुझ्दैनन् कहिले
नेपाल काठमाडौंभन्दा धेरै अंश बाहिर रोइरहेको छ
तिम्रो पूजामा दीप प्रज्वलन गर्नेहरू पाउँदैनन् थाहा
दूरदराजी जीवन सिटामोल र गिट्ठाभ्याकुरमै तड्पँदै छ
न्याय र विवेक मरेको परिवेशमा धरहरा ठडिएर के !
नेपालीको हाँसो खोसिएको बेला धरहरा ठडिएर के !
रिसानी माफ होस् एक्लै ठडिएका धरहरा तिमीलाई
अरबमा घिटीघिटी जिन्दगी बिताउनेहरूको कसम
सम्पूर्ण नेपालीको शिर ठडिएको गरिबीमुक्त नेपाल
नठडिउन्जेल म तिम्रो प्रशंसामा शब्द खर्चिन सक्तिनँ
सम्पूर्ण नेपालीको समृद्धिको धरहरा देशव्यापी नहुँदा
म तिम्रो एक्लो हुङ्कारको मूल्य तोक्न कदापि सक्तिनँ
हेर न सम्पूर्ण नेपालीहरू त मजस्तै तिम्रो सामु फुच्चे
तिमीलाई हामीप्रति निहुरेर हेर्ने फुर्सत नेै कहाँ हुन्छ र
ठालू काठमाडौँको महाठालू तिम्रा आँखा गजक्क छन्
ती त उच्च महल देख्छन् तर देशका भुइँमान्छे देख्तैनन्
(-रचनाकार डा.भरत वशिष्ठ त्रिभुवन विश्वविद्यालयमा प्राध्यापनरत छन् ।)