मंसिर २५, काठमाडौं ।
नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक (डिआइजी) विश्वराज पोखरेल प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) मा बढुवाका भएका छन्।
मन्त्रिपरिषद्को आज बसेको बैठकले पोखरेललाई बढुवा गरेको हो। पोखरेलको बढुवासँगै नेपाल प्रहरीमा एआइजीको संख्या चार पुगेको छ। यसअघि एआइजीको दरबन्दी कटौतीमा परेको थियो।
यसअघि बुधबार संसद्को राज्य व्यवस्था तथा सुशासन समितिले पोखरेललाई बढुवा गर्नेगरि सरकारले अनुमोदन गरेको संगठन तथा व्यवस्थापन सर्वेक्षण स्थगन गर्न निर्देशन दिएको थियो।
साथै तत्काल पोखरेलको बढुवा स्थगनका लागि पनि निर्देशन दिएको थियो। तर निर्देशनको भोलिपल्ट नै सरकारले पोखरेलको बढुवा गरेको हो।
दरबन्दी सिर्जना भएसँगै मंसिर १५ गते गृहसचिव महेश्वर न्यौपानेको अध्यक्षयतामा बसेको बढुवा समितिको बैठकले उनलाई एआइजी बढुवामा सिफारिस गरेको थियो।
पोखरेल हाल कार्यरत रहेका डिआइजीमध्ये वरिष्ठ हुन्। उनले अब प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले अवकाश पाएपछि प्रहरीको नेतृत्व सम्हाल्ने छन् ।
उनी एकल प्रतिस्पर्धीका रुपमा भावी नेतृत्वका दाबेदार समेत बनेका छन्।