कोरोना भेरियन्टको संक्रमण दर ३० प्रतिशत, युवा उमेर समूह बढी प्रभावित

कोरोना भेरियन्टको संक्रमण दर ३० प्रतिशत, युवा उमेर समूह बढी प्रभावित

२०७८, बैशाख १९ आइतवार

  • 1.1K
    SHARES

  • कोरोना भेरियन्टको संक्रमण दर ३० प्रतिशत, युवा उमेर समूह बढी प्रभावित

    विराटनगर । कोरोना भेरियन्टको संक्रमणको तथ्यांकानुसार युवा बढी संक्रमित भइरहेका छन् । संक्रमणको ग्राफ पनि उकालो लाग्दो छ ।

    प्रदेश नम्बर–१ को एक सातायताको तथ्यांकानुसार संक्रमितको संख्या दोब्बर रुपमा बढ्न थालेको छ । चिकित्सकका अनुसार प्रदेश–१ मा पहिलो लहरमा युवामा संक्रमण कम देखिएको थियो । तर, यो पटक भने युवा अधिक संक्रमित हुन थालेका छन् ।

    लक्षणसहितका संक्रमित अधिक देखिन थालेका हुन् । तीमध्ये पनि २१ देखि ४० वर्ष उमेर समूहभित्रका अधिक छन् । तथ्यांकानुसार योपटक संक्रमणको दर ३० प्रतिशत छ । प्रदेश–१ हालसम्म ४९५ जनाको कोरोनाका कारण मृत्यु भइसकेको छ ।

    प्रदेश–१ जनस्वास्थ्य प्रयोगशालाका निर्देशक जयवेन्द्र यादवले भने, “मानिसहरु लक्षण देखिएर मात्र परीक्षण गर्न आउने गर्दा पनि ३० प्रतिशत संक्रमणको दर देखिन्छ । अझ विगतजस्तो समूहगत परीक्षण गर्ने हो भने यो दर अझ बढ्छ ।”

    सामाजिक विकास मन्त्रालयका अनुसार अहिले दैनिक ७०० हाराहारीमा कोरोना परीक्षण हुँदै आएको छ । यसअघि, ४०० सम्मको परीक्षण हुने गरेको थियो ।

    विराटनगरमा मात्र केही दिनभित्रै एक हजारभन्दा धेरै सक्रिय संक्रमित पुग्ने मन्त्रालयको अनुमान छ । मोरङमा सक्रिय संक्रमितको संख्या एक हजारभन्दा बढी भइसकेको छ । यसैगरी, सुनसरी र झापाको संक्रमण दर पनि बढ्दो क्रममा छ ।

    शनिबार मात्र प्रदेशमा २६६ जना कोरोना संक्रमित थपिएका छन् । त्यसमध्ये मोरङमा सबैभन्दा धेरै ९१ जना, झापामा ७० र सुनसरीमा ६८ जना छन् । प्रदेशबाहिरका २० जनामा संक्रमण देखिएको छ ।

    पछिल्लो साता प्रदेश–१ मा पाँच हजार ४०२ स्वाब नमुना परीक्षण गर्दा एक हजार ६०८ जनामा संक्रमण पुष्टि भएको थियो । यो तथ्यांकले पनि संक्रमणको दर विगतभन्दा बढी रहेको देखाएको छ । प्रदेश–१ मा सक्रिय संक्रमितको संख्या दुई हजार ४०७ पुगेको छ ।

    अहिले संक्रमणको फैलावटसमेत धेरै रहेको सामाजिक विकास मन्त्रालयका विज्ञ डा. रवीन्द्र निरौलाको भनाइ छ । सरकारले ७६ बेड आईसीयू, ४७ भेन्टिलेटर, अक्सिजन चाहिने संक्रमितलाई राखिने ३३ एचडीयू (हाई डिपेन्डेन्सी युनिट) र जनरल गरी ३९५ बेडको व्यवस्थापन गरेको छ ।

    विराटनगरको कोसी कोभिड–१९ उपचार केन्द्र, धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, झापाको मेची अस्पताल, विराटनगरको विराट मेडिकल कलेज र नोबेल मेडिकल कलेज तथा न्युरो कार्डियो अस्पतालमा संक्रमितलाई राखेर उपचार गरिन्छ । यसैगरी, बिर्तामोडको बी एन्ड सी अस्पतालमा संक्रमितको उपचार भइरहेको छ ।

    प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक ज्ञानबहादुर बस्नेत भन्छन्, “कोरोना संक्रमण अझै बढ्ने भएकोले सचेत हुनुपर्ने भएको छ । सरकारले २९३ स्थलको क्वारेन्टिनस्थलमा पाँच हजार २२९ बेडको व्यवस्थापन गरेको छ । जिल्ला अस्पतालहरुमा पनि आइसोलेसन बेड थप गर्ने तयारी छ ।”

    सामाजिक विकास मन्त्रायको तथ्यांकानुसार प्रदेश–१ मा २१ देखि ३० वर्ष उमेर समूहका २६.१५ प्रतिशत र ३१ देखि ४० वर्षका २३.७३ प्रतिशत संक्रमित छन् । १० वर्ष उमेर समूहभित्र २.४१ प्रतिशत र ७१ वर्षमाथिका ४.४० प्रतिशतमा संक्रमण देखिएको छ ।

    प्रदेश–१ मा कोरोना संक्रमितको कुल संख्या ३२ हजार ९१७ पुगेको छ । संक्रमितमध्ये ३० हजार ४० जना संक्रमणमुक्त भएका छन् ।

    २०७८, बैशाख १९ आइतवार०७:२२:२६
    प्रतिक्रिया
    सम्बन्धित समाचार