वैशाख १९, काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएका छन् ।
उनले प्रदेश प्रमुखको कार्यालयमा आज बिहान राजीनामा पेश गरेका हुन् । उनको राजीनामा स्वीकृत गर्नेरनगर्ने भन्नेबारे प्रदेश प्रमुख धर्मनाथ यादवले निर्णय गर्नेछन् ।
संविधानको धारा १६८ को २ बमोजिम नेकपाबाट मुख्यमन्त्री बनेका पोखरेलले संविधानको धारा १६८ को १ बमोजिम सरकार गठन गर्न मार्गप्रशस्त गर्न भन्दै राजीनामा बुझाएका हुन् । संविधानको धारा १६९ को १ अनुसार राजीनामा बुझाइएको राजीनामा पत्रमा उल्लेख छ ।
माओवादीबाट एमाले प्रवेश गरेका दुई र जसपाबाट मन्त्री बनेका चार सांसद कारबाहीमा परेपछि प्रदेशसभा अहिले ८१ सदस्यीय छ । वैशाख ६ मा उनीविरुद्ध कांग्रेस माओवादीसहितका दलले अविश्वास प्रस्ताव ल्याएका थिए ।
प्रदेश सभाको विशेष अधिवेशन अगावै मुख्यमन्त्री पोखरेलले राजिनामा गरेका हुन् । विशेष अधिवेशन आज दिउँसो १ बजेबाट शुरु हुँदै थियो ।
दाङ क्षेत्र नम्बर २ (क)बाट प्रदेशसभा निर्वाचनमा विजयी पोखरेल २०७४ फागुनमा मुख्यमन्त्री बनेका थिए । उनीविरुद्ध नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टी (जसपा)ले अविश्वास प्रस्ताव दर्ता गरेका थिए ।