मेचीनगरमा आगलागीबाट उद्योगमा रु १५ करोड क्षति

मेचीनगरमा आगलागीबाट उद्योगमा रु १५ करोड क्षति

२०७८, बैशाख २१ मंगलवार

  • 1.3K
    SHARES

  • मेचीनगरमा आगलागीबाट उद्योगमा रु १५ करोड क्षति

    झापा । मेचीनगर नगरपालिका–१५ निलकोठीस्थित बायोग्यास कोइला कारखानामा भएको आगलागीबाट रु १५ करोडको क्षति भएको प्रहरीले जनाएको छ ।

    ज्यामिरगढी प्रहरी चौकीबाट ४ किलोमिटर दक्षिण गाउँमा रहेको सो उद्योगले इन्धनमा प्रयोग हुने ब्रिकेट कोइला उत्पादन गर्दै आएको थियो ।

    जिल्ला प्रहरी कार्यालय झापाले उद्योग सञ्चालकलाई उद्धृत गर्दै आगलागीबाट रु १५ करोडको क्षति भएको प्रारम्भिक अनुमान गरेको छ । उद्योगी आदित्य पराजुलीले अकल्पनीय क्षति पुगेको बताए । 

    सोमवार बिहान ३ बजेतिर कारखानामा आगोको लप्को देखिएपछि प्रहरी र दमकललाई खबर गरिएको थियो । अनियन्त्रित भएर फैलिएको आगो अपराह्न २ः३० बजे (११ घण्टा) सम्म पनि निभाउन सकिएको छैन ।

    नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र सर्वसाधारणको ठूलो सङ्ख्याले आगो नियन्त्रणका लागि सघाइरहेका छन् ।

    जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी राकेश थापाका अनुसार भद्रपुर, मेचीनगर, विर्तामोड, दमक, पथरी र उर्लाबारीबाट आइपुगेका दमकलले आगो नियन्त्रणमा लिने प्रयास गरिरहेका छन् । तैपनि कारखानाभित्र आगो दन्किरहेको देखिन्छ ।

    कारखानामा काठ दाउराको ठूलो थुप्रो रहेको हुँदा आगो निभ्न मुस्किल परिरहेको अग्नी नियन्त्रणमा खटिएकाहरु बताउँछन् ।

    २०७८, बैशाख २१ मंगलवार०७:२०:५१
    प्रतिक्रिया
    सम्बन्धित समाचार